काठमाडौं १४ असार ।
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सामाजिक सञ्जालमा कार्ल मार्क्सको चर्चित भनाइ उद्धृत गर्दै इतिहासको पुनरावृत्तिबारे टिप्पणी गरेका छन्। उनको उक्त अभिव्यक्तिलाई राजनीतिक वृत्तमा विभिन्न कोणबाट अर्थ्याउन थालिएको छ।
पोखरेलले लेखेका छन्, “इतिहासमा उस्तै घटनाहरू पहिलो पटक नाटक (त्रासदी) का रूपमा र दोस्रो पटक प्रहसनका रूपमा घटित हुन्छन्। मार्क्सको यो भनाइले स्पष्ट पार्छ— समय र परिस्थिति बदलिसकेपछि विगतका घटना, नारा वा प्रवृत्तिलाई हुबहु दोहोर्याउनु (पुनरावृत्ति गर्नु) उचित हुँदैन।”
उनको यो टिप्पणी कुनै व्यक्ति वा घटनालाई प्रत्यक्ष रूपमा लक्षित नगरे पनि पछिल्लो समय एमालेभित्र भइरहेका राजनीतिक बहस र नेतृत्वका गतिविधिसँग जोडेर हेरिएको छ। विशेषगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीको शैली र पुराना राजनीतिक एजेन्डाको पुनरावृत्तिप्रति संकेत गरिएको हो कि भन्ने चर्चा सामाजिक सञ्जालमा सुरु भएको छ।
