कुनै पनि सँस्था वा निकाय बलियो वा कमजोर हुने विषय सबैभन्दा पहिला त्यही सँस्थामा निर्भर गर्छ । खास गरेर राजकीय निकायहरु बलियो वा कमजोर के हुने भन्ने विषयमा संवैधानिक , राजनीतिक , कानुनी, प्रशासनिक वा अन्य कुराहरुले तात्विक फरक नपार्ने हैन जरुर पार्छन । संगठनको नीति , नेतृत्व , संगठन भित्रको आन्तरिक अनुशासन र एकताले बाह्य प्रभावहरुलाइ न्यून पार्दै प्रतिकुलता भन्दा अनाकुलता सिर्जना गर्नसक्छ ।
आज अमेरिकाको सबै भन्दा शक्तिशाली र सशक्त मानिने एफबीआइको गठन हुँदै गर्दा त्यो आज जस्तो बलियो र प्रभावशाली हुन्छ भन्ने कल्पना कसैले गरेको थिएन तर त्यसको सँस्थापक प्रमुख जे एडगर हुबरको सवल नेतृत्वमा त्यसले आफु अनकुल नीति , कानुन निर्माण गराउन मात्रै नभई श्रोत साधन र अधिकारले सुसम्पन्न हुन सकेको हो । यदी हुबरले आफु भन्दा माथि त्यो संस्थाको गरिमा नराखेको भए पनि हुबरले करिव पचास बर्ष एफबिआइको नेतृत्व त गर्थे होलान नै तर एफबिआइ यति शक्तिशाली हुने थिएन । उनले जे जसरी त्यो संगठनको एकता र त्यसमा अनुशासन कायम राखे त्यसले गर्दा त्यो संस्थामा वाह्य हस्तक्षेप रहन पाएन । यो केवल अमेरिकामा हुबरले मात्रै हैन संसारका थुप्रै राजकीय निकायमा सेवा गरेका थुप्रै अनुकरणीय पात्रहरुले गरेका छन ।
हाम्रै नेपालमा पनि अब्बल , निडर , हक्की र संगठनको गरिमालाइ सर्वोपरी मान्ने पात्रहरुले विभिन्न निकायहरुको नेतृत्व समय समयमा गरेका छन । उदाहरणको लागि नेपाल प्रहरीलाइ नै लिन सकिन्छ जसले इतिहासको कतिपय कालखण्डमा पाएको नेतृत्वको कारणले गर्दा नै आज अनेकन बाह्य प्रहार अनि आन्तरिक खिचातानीका बावजुद पनि सशक्त रहन सफलता हासिल गरेको छ । त्यसरी सकारात्मक रुपमा योगदान गर्ने नेपाल प्रहरीका प्रतिष्ठित पुर्व महानिरिक्षेकहरु सबै प्रति नमन गर्छु । आज त्यसमध्यका एक श्रद्धय अच्युतकृष्ण खरेलसंग जोडिएको निम्न दुइ÷तिन प्रसंग यहाँ उल्लेख गर्न चाहन्छु जुन प्रसंगहरुले प्रहरीको छवि जोगाउन , प्रहरीलाइ सशक्त बनाउन र कर्मले आफुलाई सम्मानित बनाउन खेलेको भूमिका स्पष्ट हुन्छः

१. अच्युतकृष्ण खरेल आइजीपी हुँदा दरवारियाहरुले आर्थिक फाइदाको लागि अफ्रीकाले काम नलाग्ने भएर फ्याल्न लागेको हतियारलाइ किन्न दिएको दबाव सिधै अस्विकार गरेर तत्कालिन शक्तिशाली दरवार र अझै भन्दा राजालाइ चुनौती दिएको हुँदा उहाँलाइ निसाना बनाइयो । अच्युतकृष्ण खरेलको त्यही अडानले उहाँलाइ समय अगावै अवकाश लिन बाध्य पारियो मात्रै हैन प्रहरी महानिरिक्षकको रुपमा राम्रो काम गरको बुझेकोले उहाँलाइ तत्कालिन प्रधानमन्त्रीले अमेरिका वा यस्तै ठुला देशको राजदुत बन्न अनुरोध गर्दा त्यसको निम्ति भाषाको कारण आफु योग्य नरहेको भनेर अस्विकार गर्दै बर्माको राजदुत हुन तयार भएको अवस्थामा सोहि अनुसार क्याबिनेट निर्णय हुँदा समेत अच्युतकृष्ण खरेलको नाम दरवारले अस्विकार गर्यो । यसले देखाउँछ कि कतिपय बेला संस्थाका नेतृत्वमा रहनेले आफु सक्किन तयार भएर पनि संस्था जोगाउनु पर्छ ।
२. नेपाली महिलाको प्रेमजालमा पर्दा करोडौंको सामान जफतको सिकार भएका एक जर्मन नागरिकको सामानहरुलाइ बन्धक मुक्त गराइदिएपछि हर्षित जर्मन नागरिकले आफुलाइ उपहार स्वरुप आफ्नो नातेदार मार्फत पठाएको त्यतिबेलाको २५ लाख ( अहिले त्यो २५ करोड जस्तो ) निज जर्मनलाइ फिर्ता दिने र त्यसरी पैसा बोक्ने नातेदारलाइ आफ्नो कार्यालय र निवासको ढोका बन्द गर्ने काम पनि अच्युत खरेलले गर्नु भएको तथ्य तत्कालिन एसपी भरत जिसी लगायतलाइ थाहा छ । त्यसो गर्दै गर्दा अच्युतकृष्ण खरेलको घरमा आइसकेको ठुलो परिणामको रकम उहाँले फिर्ता गर्दा उहाँलाइ निजि घाटा भए पनि त्यस कार्यले नेपाल प्रहरीको आइजीपी बिकाउ छैन भन्ने सन्देश प्रवाहको अलावा नेपाल प्रहरी संगठन आफ्नो नेतृत्व प्रति गौरवान्वित हुने अवस्था बनेको थियो ।
३. कुनै समयमा सहि सुचनाको अभावमा प्रहरीको नीति निर्माण संरचना अर्थात पिसिसी बैठक बाट भएको खरिद सम्वन्धी निर्णयले नेपाल प्रहरीको हित नहुने सत्य आफुलाइ वैठक पछि आफ्नो तत्कालिन पीए उपेन्द्रकान्त अर्याल ( पछि आफैं महानिरिक्षेक भएर राम्रो काम गर्ने मध्यका एक ) ले जानकारी गराए पछि भोलि पटक फेरी वैठक राखेर निर्णय उल्ट्याउने पनि उनै अच्युतकृष्ण खरेल हुनुहुन्थ्यो । त्यसो गर्दै गर्दा आफ्नो निर्णय क्षमता माथि प्रश्न उठने डर बाट नभई सहि कुरा जसले भने पनि सुन्ने र मान्ने नेतृत्वको असलियत प्रकट गर्ने भावना बाट उत्प्रेरित भएर वहाँले गरेको कामले निडर भएर सही बोल्न सबैलाइ प्रेरणा दियो ।
उल्लेखित वाहेक अरु धेरै गुण र प्रसंगहरु छन जसले अच्युतकृष्ण खरेल र उहाँको नेतृत्व लाइ सम्मान साथ सम्झना गर्न वाध्य गराई रहन्छ । जे होस अहिलेलाइ यति भनौं कि आफु भन्दा संगठन लाइ माथि राख्ने सोच , विचार र व्यवाहारले मात्रै सँस्थाहरुको गरिमा जोगिने र सँस्थाहरु सबल हुने गर्छन ।
–अमेरिका निवासी लेखक नेपालको राजनीति र सुरक्षा मामिलामा चासो राख्छन ।
