काठमाडौं, २७ असार । मुलुकको पुरानो दल कांग्रेसभित्र १५ औं महाधिवेशनबाट नेतृत्व हत्याउन नेताहरुका बीचमा शक्तिसंघर्ष जारी छ । विशेष महाधिवेशनबाट सभापति भएका गगनकुमार थापादेखी निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला समूहका बीचमा अहिले तीव्र शक्ति संघर्ष जारी छ ।
संस्थापनको नियमित वैठक, छलफल चल्दैगर्दा इतर पक्षका नेताहरुको समेत समानान्तर गतिविधि जारी छ । शुक्रबार खड्का निवासमा इतरपक्षको बैठक बस्यो । खड्का समूहको समेत नियमित बैठक, छलफल जारी नै छ । विशेष महाधिवेशनमा सहभागि नभएको खड्का, कोइराला समूहले आगामी महाधिवेशन एकताको महाधिवेशन हुनुपर्ने र त्यसअघि अहिलेको केन्द्रीय समितिमा सम्मानजनक सहभागिता हुनुपर्ने अडानमा छ ।
पार्टी सदस्यता र समायोजन विवादले कांग्रेस १५औँ महाधिवेशनसंगै विभाजन हुने संघारमा समेत पुगेको छ । १४औँ महाधिवेशनका १११ केन्द्रीय सदस्यलाई वर्तमान समितिमा समायोजन गर्ने र क्रियाशील सदस्यता अद्यावधिक नगरी महाधिवेशन गर्ने इतर पक्षको मागलाई सभापति थापाले विधानविपरीत भन्दै अस्वीकार गरिदिएका छन् ।