काठमाडौं, २ साउन ।
नेपाल प्रहरीमा रहँदा अपराध अनुसन्धानमा अब्बल रहेका तत्कालिन प्रहरी नीरिक्षक दीपेन्द्र अधिकारी सम्मानित भएका छन् । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले केन्द्रीय अनुसन्धान व्यूरो स्थापनाको १६औं वार्षिकोत्सव समारोहमा अधिकारीलाई सम्मान गरेका हुन् ।
संगठित अपराध र तथा डिजिटल अपराधको विषयमा लामो समय अनुसन्धान अधिकृतको रुपमा काम गरेका अधिकारीको योगदनालाई स्मरण गर्दै सम्मान गरिएको सिआइबीले जनाएको छ । विगतमा ब्यूरो प्रमुखहरुलाई सफल बनाउन कार्यरत रहि उल्लेखनीय कार्य गर्ने अवकाश प्राप्त प्रहरी कर्मचारीहरू एवम् अपराध अनुसन्धानमा प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा विशिष्ट योगदान पु¥याउने कर्मचारीलाई सम्मान प्रदान गरेर सिआइबीले नमुनायोग्य काम गरेको थियो ।
प्रहरी महानिरीक्षक कार्कीले ब्यूरोका पूर्व प्रमुखहरूलाई पनि सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले स्थापनाकाल देखि जघन्य प्रकृतिका अपराध, संगठित, आर्थिक एवम् जटिल अपराधहरूको अनुसन्धानका साथै न्यायपूर्ण, सुरक्षित एवम् समृद्ध नेपाल निर्माणमा ब्यूरोले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा केन्द्रीय अनुसन्धान ब्यूरोले निष्पक्ष, विश्वसनीय र उत्कृष्ट अनुसन्धान संस्थाको रूपमा नागरिकको पूर्ण विश्वास हासिल गर्दै राष्ट्रको न्याय प्रणालीलाई थप सुदृढ बनाउने शुभकामना समेत व्यक्त गरेका थिए ।
प्रहरी महानिरीक्षक कार्कीले ब्यूरोले अहिले अनुसन्धान अनि मात्र पक्राउ भन्ने अनुसन्धानको न्यूनतम मापदण्डलाई आत्मसात् गर्दै तटस्थ एवम् उच्च व्यावसायिकता प्रदर्शन गरी नागरिकको विश्वास जित्नुपर्ने उल्लेख गर्दै जघन्य, संगठित, अन्तरदेशीय, उच्च जटिल तथा आर्थिक अपराधका बदलिँदा चुनौतीलाई सम्बोधन गर्न थप प्रभावकारी रूपमा परिचालित हुनुपर्ने बताएका थिए । अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी ब्यूरोको क्षमता अभिवृद्धि एवम् अन्तर निकाय र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ गर्दै उत्कृष्ट अनुसन्धान निकायको रूपमा स्थापना गर्न संगठन सदैव क्रियाशील रहेको पनि उनको भनाई थियो ।
