काठमाडौं, १५कात्तिक । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको नेतृत्व र कार्यशैलीप्रति प्रश्न उठाउँदै सरकारका सबै गतिविधिको राजनीतिक जिम्मेवारी सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिनुपर्ने बताएका छन् ।
आइतबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सरकारका पछिल्ला गतिविधि, राजनीतिक घटनाक्रम, सुशासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र विधिको शासनबारे धारणा राख्दै सभापति थापाले सरकारका राम्रा कामको जस लिने र नराम्रा कामको अपजसबाट उम्किने सुविधा सत्तारूढ दललाई नभएको बताए ।
उनले सरकारलाई डर, त्रास र प्रतिशोधको राजनीति छाडेर विश्वासका आधारमा शासन सञ्चालन गर्न आग्रह गरे । मुलुकलाई अहिले त्रासको नभई भरोसाको आवश्यकता रहेको उल्लेख गर्दै नागरिकमा डर सिर्जना गरेर शासन गर्न खोज्नु उचित नहुने उनको भनाइ थियो ।
सरकारले शक्तिको प्रयोग गर्दा संयम अपनाउनुपर्ने र लोकतान्त्रिक मूल्य तथा मान्यताभित्र रहेर काम गर्नुपर्नेमा जोड दिँदै थापाले सरकारको जिम्मेवारी आदेश दिने र नियन्त्रण गर्ने मात्र नभई नागरिकलाई राज्यप्रति भरोसा दिलाउनु पनि भएको बताए ।
उनले रास्वपालाई औपचारिक वक्तव्य जारी गरेर मात्र जिम्मेवारी पूरा भएको नठान्न आग्रह गर्दै सरकारका गलत कदम सच्याउन प्रभावकारी भूमिका निर्वाह गर्न चुनौती दिए । सत्ताको आडमा कसैलाई पनि संविधान र कानुनभन्दा माथि रहने छुट नभएको उल्लेख गर्दै उनले सरकारलाई आफ्नो कार्यशैली सुधार्न आग्रह गरे ।
सभापति थापाले अनुसन्धान गर्ने निकायलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने बताउँदै अनुसन्धान प्रक्रियालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नहुने धारणा राखे ।
सञ्चारगृहमा प्रहरी प्रवेश र पत्रकार पक्राउ गर्ने तयारीप्रति आपत्ति जनाउँदै उहाँले सञ्चारमाध्यममाथिको प्रहरी हस्तक्षेपलाई सामान्य रूपमा लिन नसकिने बताए ।
सञ्चारगृहको न्यूजरुमभित्र प्रहरी प्रवेश गर्नु सामान्य प्रशासनिक प्रक्रिया मात्र नभएको उल्लेख गर्दै यस्तो कदम उच्च तहको राजनीतिक निर्णय वा आदेशबिना सम्भव नहुने उनको तर्क थियो ।
सञ्चारमाध्यमको स्वतन्त्रता लोकतन्त्रको महत्त्वपूर्ण आधार भएको बताउँदै थापाले पत्रकारिता क्षेत्रलाई त्रसित बनाउने गतिविधिले लोकतान्त्रिक व्यवस्था कमजोर पार्न सक्ने चेतावनी दिए ।
उनले नेपाली कांग्रेस प्रतिपक्षमा रहे पनि सुशासन, भ्रष्टाचार नियन्त्रण र मुलुकको हितका विषयमा सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।
प्रतिपक्षको भूमिका सरकारका हरेक निर्णयको विरोध गर्नु मात्र नभएको उल्लेख गर्दै उनले गलत कामको आलोचना गर्ने र राम्रा काममा सहयोग गर्ने नीति कांग्रेसले अवलम्बन गरेको बताए ।
सरकारले आफ्ना कमजोरी सच्याएर नागरिकको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिँदै थापाले आफूअनुकूलका प्रतिवेदन मात्र कार्यान्वयन गर्ने र प्रतिकूल हुने प्रतिवेदन सार्वजनिक नगर्ने प्रवृत्ति स्वीकार्य नहुने बताए ।
सभापति थापाले सरकारलाई संविधान र विधिको शासनको सम्मान गर्न, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न तथा सरकारका कामकारबाहीको सम्पूर्ण राजनीतिक जिम्मेवारी लिन आग्रह गरे । कांग्रेस प्रतिपक्षमा रहे पनि सुशासनका पक्षमा सरकारलाई सहयोग गर्न तयार रहेको उनले स्पष्ट पारे ।


