काठमाडौं, १५कात्तिक ।
१० महिनापछि नेपाली सेनाको प्रधानसेनापति बन्ने उपरथी अनुपजंग थापालाई रथीमा बढुवा गर्ने प्रक्रिया सुरु भएको छ। हाल युद्धकार्य विभागको प्रमुख रहेका थापाले रथीमा बढुवा भएपछि मंसिरको पहिलो साताबाट बलाध्यक्ष रथीको जिम्मेवारी पाउनेछन्।
संयुक्त राष्ट्रसंघ शान्ति मिसन अन्तर्गत अब्येईमा फोर्स कमान्डरका रुपमा कार्यरत बलाध्यक्ष रथी गणेशकुमार श्रेष्ठ मंसिर ७ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन्। नेपाली सेनाबाट अवकाश भए पनि उनी शान्ति मिसनमा फोर्स कमान्डरको जिम्मेवारीमा भने अझै एक वर्ष कार्यरत रहनेछन्। उनलाई सोही सर्तअनुसार सरकारले रथीमा बढुवा गरेको थियो। २०२६ जनवरीबाट उनी २ वर्षका लागि फोर्स कमान्डर नियुक्त भएका थिए।
नेपाली सेनामा भने उनी रथीको ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश हुन लागेका हुन्। उनको अवकाशसँगै थापालाई बढुवा गर्ने गरी नेपाली सेनाले सूचना निकालेको हो। थापाविरुद्ध उजुरी गर्न सात दिनको समय दिँदै गत सोमबार नै सूचना प्रकाशन भएको थियो। आगामी सोमबार नेपाली सेनाले बढुवा सिफारिस गर्न सक्नेछ।
त्यसपछि बस्ने मन्त्रिपरिषद् बैठकले श्रेष्ठको अवकाश्पछि जिम्मेवारी लिने गरी थापालाई रथीमा बढुवा गर्ने निर्णय गर्नेछ।
नेपाली सेनामा पहिलो वरीयताका रथीलाई बलाधिकृत र दोस्रो वरीयताका रथीलाई बलाध्यक्ष रथीको जिम्मेवारी प्रदान गरिँदै आएको छ। हाल बलाधिकृत रथी प्रदीपजंग केसी छन्। तर केसी पनि एक महिनाभित्रै अवकाश हुनेछन्। उमेर हदका कारण नै केसी पनि मंसिर १५ गतेदेखि अनिवार्य अवकाशमा जानेछन्।
केसी २०८१ मंसिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट रथीमा बढुवा भएका थिए। उनको अवकाशपछि भने मधुकर कार्कीलाई रथीमा बढुवा गरिनेछ।
त्यसपछि अनुपजंग थापा बलाधिकृत रथी र कार्की बलाध्यक्ष रथीको जिम्मेवारीमा रहनेछन्। २०८४ भदौ २४ गतेदेखि थापा नेपाली सेनाको प्रधानसेनापति बन्ने करिब पक्का छ। हालका प्रधानसेनापति अशोकराज सिग्देल प्रधानसेनापतिको तीन वर्षे कार्यकाल पूरा गरेर बिदा हुनेछन्।

उनको अवकाशपछि थापालाई प्रधानसेनापतिमा नियुक्त गर्ने निश्चितजस्तै छ। थापा कार्कीभन्दा दुई ब्याच सिनियर हुन्। नेपाली सेनामा सिनियर रथी नै प्रधानसेनापति बन्दै आएका छन्।
प्रमुख सेनानीमा भने अनुपजंग थापाभन्दा मधुकर कार्की पहिले बढुवा भएका थिए। तर नेसनल डिफेन्स कोर्स (एनडीसी) समयमा नगर्दा सहायक रथीमा बढुवा हुन ढिलाइ भयो। त्यसपछि कार्की पछि परे। थापाभन्दा पछि भर्ना भएका उनी तालिम सकेपछि सहायक रथी हुँदै उपरथी बनेका थिए।
कार्की सहायक रथी रहेकै बेला २०८० फागुन ६ गते थापा उपरथीमा बढुवा भएका थिए। त्यसको ५ महिनापछि २०८१ साउनमा कार्कीलाई उपरथीमा बढुवा गरिएको थियो। दुवैले यसअघि पृतनापतिको रुपमा पनि जिम्मेवारी सम्हालिसकेका छन्।
थापा उपरथी हुँदा तीन जना एकसाथ बढुवा भएकामा अरु दुई जना उमेर हदका कारण अवकाश भइसकेका छन्। थापा २८ बेसिकका हुन्।
रथीमा बढुवा प्रक्रिया अगाडि बढाइएका अनुपजंग थापा नेपाली सेनाको शक्तिशाली मानिने युद्धकार्य विभागको प्रमुख हुन्। उनी त्यसअघि पृतनापति थिए।
थापा बढुवा भएको एक सातापछि कार्की पनि रथी हुनेछन्। बढुवाको रोलक्रममा रहेका कार्की हाल सैनिक मुख्यालयकै निरीक्षणाधिकृत विभागमा कार्यरत छन्।
थापा बढुवा भएपछि उपरथी कार्कीलाई बढुवा गर्न सेनाले सूचना निकाल्ने छ। कुनै उजुरी परेर बदर नभए बलाधिकृत रथी कमान्डको समितिले रथीमा बढुवा गर्न सिफारिस गर्ने छ। सोही सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ। त्यसपछि प्रधानसेनापतिले दर्ज्यानी चिन्ह प्रदान गर्नेछन्।

