काठमाडौं, ४ भदौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठन प्रक्रियालाई इन्कार गर्ने स्पष्ट संकेत गरेपछि संस्थापन इतर पक्षका नेताहरुले पार्टी पुनःनिर्माण महाअभियान सुरु गर्ने गृहकार्य सुरु गरेका छन् ।
केन्द्रीय सचिवालयमा स्पष्ट रुपमा अल्पमतमा परिसकेका ओली अध्यक्ष पद छाडेर सिंगै केन्द्रीय कमिटी विघटन गरी पुनर्गठन प्रक्रियामा जान तयार नदेखिएपछि इतर पक्षका नेताहरुले विकल्पका रुपमा पार्टी पुनःनिर्माण महाअभियान सुरु गर्ने गृहकार्य सुरु गरेका हुन् ।
उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसहित बहुमत सचिवालयका नेता तथा पूर्व पदाधिकारीहरुसमेतको समर्थनमा पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डे, नेताहरु गोकूल बाँस्कोटा, आनन्दप्रसाद पोखरेलसहित दुई दर्जन बढि नेताहरुले पार्टी पुनर्गठनको काम ओलीकै कारण अबरुद्ध हुने निष्कर्षसहित त्यस्तो महाअभियान सुरु गर्ने गृहकार्य सुरु गरेका हुन् ।
एघारौं महाधिवेशनमा २ हजार २ सय ६३ प्रतिनिधि सहभागी भएकोमा १ हजार १ सय ३२ प्रतिनिधिले हस्ताक्षर गर्ने बितिक्कै पार्टीलाई विशेष महाधिवेशनमा लैजानुपर्ने हुन्छ । अहिले नै करिब ६ सय जति महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर जुटिसकेका कारण ओलीले पार्टी पुनर्गठनको प्रक्रिया रोक्ने कोशिस गरे भदौ तेस्रो साताबाटै भेला सुरु गर्ने इतर पक्षका नेताहरुको तयारी छ ।
त्यसका लागि सातै प्रदेशमा वृहत्त भेला आयोजनाको कार्यतालिका बनाएर एघारौं महाधिवेशनका प्रतिनिधिहरुको बहुमत हस्ताक्षर जुटाउने तयारी भएको अभियानको तयारीमा रहेका नेताहरुले जनाएका छन् ।
एघारौं महाधिवेशनमा २ हजार २ सय ६३ प्रतिनिधि सहभागी भएकोमा १ हजार १ सय ३२ प्रतिनिधिले हस्ताक्षर गर्ने बितिक्कै पार्टीलाई विशेष महाधिवेशनमा लैजानुपर्ने हुन्छ । अहिले नै करिब ६ सय जति महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर जुटिसकेका कारण ओलीले पार्टी पुनर्गठनको प्रक्रिया रोक्ने कोशिस गरे भदौ तेस्रो साताबाटै भेला सुरु गर्ने इतर पक्षका नेताहरुको तयारी छ ।
तर, त्यस बाटोमा जानु पहिले पार्टी पुनर्गठनका लागि बनेको पुनर्गठन तथा समीक्षा कार्यदल, केन्द्रीय सचिवालय बैठक र केन्द्रीय कमिटी बैठकको वैधानिक र सुल्टो बाटो तथा प्रक्रियाबाटै पार्टी पुनर्गठनको मुद्दा टुंगियोस् भन्ने पक्षमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलसहित बुहसंख्यक पदाधिकारी छन् । तर, ओली जसरी हुन्छ बैठक छलेर केन्द्रीय कमिटीको बहुमतमार्फत पेलेर जाने रणनीति बुनेर अनेक षड्यन्त्रमा लागेको इतर पक्षका नेताहरुको अनुमान छ ।
प्रदेश पुनर्गठन प्रक्रियालाई पनि ओलीले शक्ति संचय गर्दै बहुमत जुटाउने मञ्चका रुपमा प्रयोग गर्न खोजेको नेताहरुको भनाई छ । प्रदेशमा तीन दर्जनभन्दा बढि नेताहरुलाई त मन्त्री र त्यसबाहेकका संसदीय पदहरुको पनि प्रलोभन दिइएको बताइने गरिएको छ ।
पार्टीलाई सामूहिक नेतृत्व र विधिसम्मत प्रक्रियाबाट चलाउनेभन्दा पनि आफूलाई जे र जसो गर्दा अनुकूल हुन्छ त्यही गर्ने ओलीको रणनीतिले एमाले सच्चिने होइन, थप कमजोर हुँदै सक्किने बाटोतिर उन्मूख हुने खतरा देखिएको भन्दै सातै प्रदेशमा भेलामार्फत बहुसंख्यक प्रतिनिधिहरुको हस्ताक्षर जुटाइनेगरी वार्मअप बढिरहेको नेताहरुको भनाई छ ।


