काठमाडौं, ४ भदौ । सर्वोच्च अदालतमा आन्तरिक सेवाबाटै न्यायधीश नियुक्तिको तयारी भैरहेको छ । सर्वोच्चमा सिफारिस हुने चारजना पदका लागि पाँचजना मुख्य न्यायाधीशबीच कडा प्रतिस्पर्धा शुरु भएको छ । न्यायपरिषदले चारजना न्यायाधीश सिफारिस गर्नेगरी आन्तरिक तयारी गरिरहेको स्रोतको दावी छ । सर्वोच्चमा चारजना नियुक्तिका लागि सिफारिस भए एकजना र तीनजना सिफारिस भएमा दुईजना बाहिरबाट पर्ने स्रोतको दावी छ ।
सर्वोच्चको न्यायाधीशका लागि उच्च अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, राजनप्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारी प्रतिस्पर्धामा रहेको परिषद् स्रोतले जानकारी दिएको छ । हाल बागचन्द उच्च अदालत पोखरा, भट्टराई उच्च अदालत विराटनगर, कुँवर उच्च अदालत पाटन, भण्डारी उच्च अदालत सुर्खेत र तिवारी उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश छन् । न्यायपरिषदको अभिलेख अनुसार बागचन्दको जन्म २०२६ साल भदौ १४ रहेको छ । उनी २०६६ साल भदौ २१ मा कानुन व्यवसायी पृष्ठभूमिबाट उच्च अदालतको न्यायाधीश बनेका थिए । २०८१ साउन २८ गते मुख्य न्यायाधीश बनेका थिए ।
यस्तै, अर्का मुख्य न्यायाधीश भट्टराई २०२१ साल माघ १५ गते जन्मिएका हुन् । उनी २०४७ साल असोज १ गते सरकारी वकिल समूहबाट सेवा प्रवेश गरेका हुन् । भट्टराई सर्वोच्चको मुख्य रजिष्ट्रारबाट उच्चको न्यायाधीश हुँदै २०८२ असार १ गते मुख्य न्यायाधीश बनेका थिए ।
परिषदको अभिलेख कुँवर २०२९ साल पुस ४ मा जन्मिएका थिए । उनले २०५५ साल भदौ २१ मा न्यायसेवाको अधिकृतबाट सेवा सुरु गरेका हुन् । कुँवर पनि सर्वोच्चको मुख्य रजिष्ट्रारबाट उच्चको न्यायाधीश हुँदै २०८२ असार १ गते नै मुख्य न्यायाधीश बनेका हुन् ।
उनी पनि कानुन व्यवसायी पृष्ठभूमिबाट २०७० साल जेठ २७ गते उच्चको न्यायाधीश बनेका थिए । उनी २०८२ असार १ गते उच्चको मुख्य न्यायाधीश बनेका थिए । भण्डारी २०२२ साल पुस १४ गते जन्मिएका हुन् ।
अर्का मुख्य न्यायाधीश राजेश्वर तिवारी पनि कानुन व्यवसायी पृष्ठभूमिबाटै २०७० मा उच्चको न्यायाधीश बनेका थिए । उनी मुख्य न्यायाधीशमा २०८२ असार १ गते नियुक्त भएका थिए । तिवारीको जन्म मिति २०२१ साल असोज ४ गते रहेको छ ।
न्यायाधीशविरुद्ध न्यायपरिषदमा रहेका उजुरीको टुंगो लागेलगत्तै सर्वोच्चको न्यायाधीश नियुक्ति गरिने भएको छ । हाल सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका अतिरिक्त २१ जना न्यायाधीश रहने संवैधानिक व्यवस्था छ । हाल तीनजना न्यायाधीश पद रिक्त छ । यही भदौ १४ गतेदेखि ६५ वर्षको उमेरहदका कारण न्यायाधीश तिलप्रसाद श्रेष्ठको अनिवार्य अवकाश हुँदै छ । श्रेष्ठको स्थान रिक्त भएपछि सर्वोच्चमा चार पद रिक्त हुनेछन् । अवकाश हुनुभन्दा एक महिनाअघि नै पनि रिक्त स्थानमा पुर्ति गर्नुपर्ने संविधानिक र कानुनी व्यवस्थाअनुसार उक्त पदमा पनि सिफारिस गर्न बाधा छैन । स्रोतका अनुसार न्याय परिषद् ऐन, २०७३ को दफा ४ को उपदफा ९१० मा ‘न्याय परिषद्ले उमेरको हदका कारण अवकाश हुने सर्वोच्च अदालतका न्यायाधीशको पद यकिन गरी पद रिक्त हुनुभन्दा कम्तीमा एक महिनाअघि नियुक्तिका लागि सिफारिस गर्नेछ’ भन्ने प्रावधान छ ।


