काठमाडौं, ४ भदौ ।
नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १०८ वटा जलविद्युत कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार समीक्षा वर्षमा जलविद्युत कम्पनीहरूको समग्र वित्तीय स्वास्थ्यमा निकै ठूलो सकारात्मक परिवर्तन आएको देखिएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा यी १०८ कम्पनीहरूको कुल खुद नाफा ५,८३,०६५ हजार मात्र रहेकोमा आर्थिक वर्ष २०८२/८३ मा करीब १,८८३ प्रतिशतले वृद्धि भई कुल नाफा ११,५६२,३७७ हजार पुगेको छ ।
सोलु हाइड्रोपावर बाहेक १०७ कम्पनीहरूको तथ्यांक विश्लेषण गर्दा अघिल्लो वर्ष पनि नाफामा रहेका र समीक्षा वर्षमा नाफा अझ बढाउन सफल भएका कम्पनीहरू ४५ वटा छन् । अघिल्लो वर्ष खुद नोक्सानी बेहोरेका तर समीक्षा वर्षमा सुधार भई नाफा कमाउन सफल भएका कम्पनीहरू २१ वटा छन् । समीक्षा अवधिमा नाफामा आउन नसके पनि अघिल्लो वर्षको तुलनामा आफ्नो खुद घाटा कम गर्न सफल भएका कम्पनीहरू ८ वटा छन् ।
अघिल्लो वर्ष नाफामा रहेका तर समीक्षा वर्षमा नाफाको आकार घटेका कम्पनीहरू १६ वटा छन् । अघिल्लो वर्ष नाफा आर्जन गरेका तर समीक्षा वर्षमा जोगाउन नसकी नोक्सानी बेहोर्न पुगेका कम्पनीहरू ९ वटा छन् । अघिल्लो वर्ष पनि घाटामा रहेका र समीक्षा वर्षमा घाटाको दर अझ थपिएका कम्पनीहरू ८ वटा छन् ।
साहस ऊर्जा कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ८,९५,१२६ हजार खुद नाफा आर्जन गरेकोमा आर्थिक वर्ष २०८२/८३ मा ५१.८४ प्रतिशतले नाफा बढाउँदै १३,५९,१५६ हजार खुद नाफा कमाउन सफल भई सम्पूर्ण जलविद्युत कम्पनीमध्ये पहिलो स्थानमा रहन सफल भएको छ ।
सोलु हाइड्रोपावरले आर्थिक वर्ष २०८१र८२ को तुलनात्मक वित्तीय विवरण उपलब्ध नभए तापनि यस कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा ११,१३,८७९ हजार खुद नाफा आर्जन गर्दै दोस्रो स्थान हासिल गरेको छ ।
अपि पावर अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ४,१७,५३९ हजार खुद नाफा आर्जन गरेको यस कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा १३०.०६ प्रतिशतको आकर्षक वृद्धि हासिल गर्दै ९,६०,६०५ हजार खुद नाफा आर्जन गरेको छ ।
त्यस्तै, अपर तामाकोशी आर्थिक वर्ष २०८१/८२ मा ३६,८०,११७ हजार खुद नोक्सानीमा रहेको यस कम्पनीले ऐतिहासिक सुधार (टर्नअराउन्ड) गर्दै आर्थिक वर्ष २०८२/८३ मा ९,२५,९३४ हजार खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२५.१६ प्रतिशतको सकारात्मक वित्तीय सुधार हो ।
माउन्टेन इनर्जी नेपालले आर्थिक वर्ष २०८१/८२ मा ५,२७,६३३ हजार खुद नाफा कमाएकोमा आर्थिक वर्ष २०८२/८३ मा ५१।०६ प्रतिशतले नाफा वृद्धि गर्दै ७,९७,०४३ हजार खुद नाफा सुरक्षित गरेको छ ।
त्यस्तै, गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा चिलिमे हाइड्रोपावरले ६.४४, सानिमा मिडिल तमोरले ५२.५१, ग्रीन भेन्चर्स २०.६२ र सुपर मादी हाइड्रोपावरले २७७.६८ प्रतिशत नाफा वृद्धि गरेका छन् ।
साथै, गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा रसुवागढी हाइड्रोपावरले सबैभन्दा धेरै घाटा व्यहोरेको छ । यस कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ४,२९,५४१ हजार खुद नोक्सानी बेहोरेकोमा समीक्षा वर्ष २०८२/८३ मा २३६.६१ प्रतिशतले नोक्सानी वृद्धि भई १४,४५,८९० हजार खुद नोक्सानी बेहोरेको हो ।
त्रिशूली जलविद्युत कम्पनीको नोक्सानीमा ३५१.७९ प्रतिशतको ठूलो वृद्धि हुँदै कुल खुद नोक्सानी १,३१,५५५ हजार पुगेको छ भने शिवा श्री हाइड्रोपावर १,१९,११० हजार खुद नोक्सानीमा धकेलिएको छ ।
साथै, समीक्षा अवधिमा हिम स्टार ऊर्जा १,१०,८४७ हजार, दरमखोला हाइड्रो इनर्जीको १,०१,८१७ हजार, हिमाल दोलखा हाइड्रोपावरको ९५,२२३ हजार, मोदी इनर्जीको ८०,३०० हजार, शिखर पावर डेभलपमेन्टको ७५,७८४ हजार, सान्भी इनर्जीको ६७,९०७ हजार र एशियन हाइड्रोपावरको ५९,१८३ हजार पुगेको छ ।


