उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष किशोर श्रेष्ठलाई धरपकड नगर्न अन्तरिम आदेश जारी गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरलाई प्रतिवादी बनाएर श्रेष्ठले दायर गरेको निवेदनमा न्यायाधीश अच्युत कोइरालाको इजलासले बुधबार अन्तरिम आदेश दिएको हो।
प्रकाशित समाचारका विषयमा प्रेस काउन्सिलमा परेको उजुरी कारवाहीयुक्त अवस्थामा रहेको तथा सर्वोच्च अदालतबाट भदौ १ गते आदेश भएको उल्लेख गर्दै उच्चले पक्राउ नगर्न भनेको हो।
‘…प्रकाशित समाचारका विषयमा प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकलाई धरपकड गर्ने, पक्राउ गर्ने, थुनामा राखे लगायतका कार्य नगर्नू, नगराउनू भनी विपक्षीका नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम प्रत्यर्थीहरूका नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ।


