वागमती सरकारमा यसरी हुँदैछ बाँडफाँट–तीन दललाई तीन-तीन मन्त्री
काठमाडौं, ३ भदौ ।
वागमती प्रदेशमा एमाले सांसद किरण थापालाई मुख्यमन्त्री बनाउन राप्रपाले समर्थन गरेसँगै एमाले–नेकपा–राप्रपा समीकरणमा विहिबारसम्म नयाँ सरकार बन्ने निश्चित भएको छ ।
राप्रपा संसदीय दलका नेता उद्धब थापाले तीन मन्त्रालय पाउनेगरी एमाले सांसद थापालाई मुख्यमन्त्री बनाउने सहमति भएको निकटस्थहरुलाई जानकारी गराएका छन् ।
एमाले सांसद केशव पोखरेलले भने तीन दलबीच तीन÷तीन मन्त्री बाँडेर लिनेगरी प्रारम्भिक समझदारी जुटेको तर अन्तिम सहमति बाँकी रहेको बताएका छन् ।
अहिले वामगती प्रदेशमा मुख्यमन्त्रीबाहेक ८ ओटा मन्त्रालय छन् । जसअनुसार एक जनालाई विना विभागीय या राज्य मन्त्री बनाएर तीन÷तीन मन्त्री बनाउनेगरी सहमति जुटेको छ ।
एमाले र नेकपाबीच मुख्यमन्त्री लिने दलपछिको आकर्षक मन्त्रालय अर्को दलले लिने सहमति छ । जसअनुसार नेकपाले आर्थिक मामिला वा आन्तरिक मामिला मन्त्रालयमध्ये एक रोजेर लिन पाउनेछ ।
अरु मन्त्रालय राप्रपासहितको सहमतिमा टुंग्याउने तयारी छ । मुख्यमन्त्री थापा एक दशकअघिसम्म राप्रपामै सकृय रहेका कारण पनि उनलाई मतदान गर्न राप्रपाले सहज रुपमा विश्वास गरेको छ ।


