काठमाडौं, ५ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन पोखरा जाने कार्यक्रम तय भएपनि सुरक्षाकर्मीहरु भने बेखर रहेका छन् । प्रधानमन्त्री कुन प्रयोजनका निम्ति पोखरा आउन लागेका हुन् भन्नेबारे सुरक्षा निकायलाई अहिलेसम्म जानकारी छैन ।
कास्कीका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले प्रधानमन्त्रीको पोखरा भ्रमणबारे प्रधानमन्त्री कार्यालय तथा गृह मन्त्रालयबाट कुनै जानकारी प्राप्त नभएको बताए।
‘हामीले पनि सञ्चारमाध्यममार्फत जानकारी पायौँ तर उहाँ (प्रधानमन्त्री) आउनेबारे औपचारिक जानकारी प्राप्त भएको छैन’, डीएसपी पासवानले भने, ‘औपचारिक जानकारी नआएपछि त्यसै भन्न सकिएन।’
राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका सभापति यदु अधिकारीले पनि प्रधानमन्त्रीको भ्रमणबारे औपचारिक जानकारी प्राप्त नभएको बताए।
‘मसँग प्रहरीले जानकारी मागेको थियो तर पार्टीलाई कुनै जानकारी गराइएको छैन’, उनले भने।
प्रधानमन्त्रीको मुस्ताङ जाने कार्यक्रम तय भएको भनिए पनि मुस्ताङ प्रहरीलाई समेत भ्रमणबारे कुनै जानकारी छैन।
मुस्ताङ प्रहरी प्रमुख डीएसपी रामचन्द्र तिवारीले भीभीआईपी भ्रमणबारे जानकारी नआएको तर सुरक्षा प्रबन्ध गर्न कुनै समस्या नभएको प्रतिक्रिया दिए।
सुरक्षा निकायहरूलाई जानकारी नभए पनि प्रधानमन्त्रीको पोखरा भ्रमण भने निश्चित भएको स्रोतले बतायो।
स्रोतका अनुसार प्रधानमन्त्री शाह शुक्रबार अपराह्न पोखरा जाँदैछन्।
उनी कास्कीको अन्नपूर्ण गाउँपालिकाको अस्ताममा रहेको एक रिसोर्टमा रात बिताउने गरी पोखरा आउन लागेका हुन्।
उनका लागि रिसोर्ट बुक भइसकेको छ। दिउँसो ३ बजेतिर प्रधानमन्त्री सो रिसोर्ट पुग्ने सुरक्षा स्रोतको भनाइ छ।


