काठमाडौं, ५ भदौ । बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको आरोपमा सातजनाविरुद्ध बैंकिङ कसुर मुद्दा दायर भएको छ । प्रभु बैंकका सात कर्मचारी तथा एसियन भिलेज रिसोर्ट प्रालिका दुई सञ्चालकविरुद्ध बिहीबार उच्च अदालत, पाटनमा मुद्दा दायर भएको हो ।
रिसोर्टका सञ्चालक शशिधर शर्मा र उनका भाइ शिशिर पौडेलले रिसोर्ट स्थापनाका लागि भनेर बैंकबाट ४८ करोड रुपैयाँ लिएकोमा सो पैसा कम्पनीमा खर्च नगरी परिवारका विभिन्न व्यक्तिको खातामा रकमान्तर गरेर दुरुपयोग भएको थियो । सिआइबीले रिसोर्टका सञ्चालकद्वयलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
यसमा प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन, पूर्व चिफ बिजनेस अफिसर रश्मी पन्त, कमलादी शाखाका प्रबन्धक नन्दराज जोशी, मणिग्राम शाखाका प्रबन्धक सन्तोष ज्ञवाली र जुनियर अफिसर राजेन्द्र श्रेष्ठविरुद्ध मुद्दा दायर भएको हो । उनीहरूमध्ये पूर्वसिइओ शेरचनबाहेक अन्यलाई पक्राउ गरेर मुद्दा दायर गरिएको छ । शेरचनविरुद्ध भने यसअघि नै तीन मुद्दा दायर भइसकेका छन् ।
ऋण प्रवाह गर्दा कम्पनीका नाममा रहेका जग्गाहरू दृष्टिबन्धकसमेत नगरी कबुलियतनाम कागजलाई आधार बनाइएको थियो । धितो सुरक्षणको व्यवस्थासमेत नगरी कर्जा दिइएकाले राष्ट्र बैंकले सो कर्जालाई शतप्रतिशत खराब कर्जामा वर्गीकरण गरेको थियो । यस विषयमा राष्ट्र बैंकबाट प्राप्त भएको स्थलगत निरीक्षण प्रतिवेदनलाई आधार बनाएर आफूहरूले अनुसन्धान गरेको सिआइबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबरा बताउँछन् ।


