काठमाडौं, ७ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला तथा बालबालिकामाथि भइरहेको बलात्कार, हत्या तथा अन्य प्रकारका हिंसाका घटना बढ्दै गएकोमा चिन्ता प्रकट गरेकी छिन । बारा जिल्लामा तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको बलात्कारपछि हत्याको घटनाले हामी सबैलाई स्तब्ध बनाएको उल्लेख गर्दै यस्ता घटहरु दोहोरिन नदिन प्रशासन समक्ष आग्रह समेत समेत गरेकी छिन् । ‘ यस घटनालगायत देशका विभिन्न भागमा महिला तथा बालबालिकामाथि भइरहेका हिंसाका घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न म सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु’, पूर्व राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत धारणा राखेकी छिन ।
महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्ध सार्वजनिक अपील
महिला तथा बालबालिकामाथि भइरहेको बलात्कार, हत्या तथा अन्य प्रकारका हिंसाका घटनासम्बन्धी समाचारहरू सञ्चारमाध्यममा आइरहेको देख्दा म अत्यन्त दुःखी र चिन्तित छु । हालै बारा जिल्लामा तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको बलात्कारपछि हत्याको घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ । यस घटनालगायत देशका विभिन्न भागमा महिला तथा बालबालिकामाथि भइरहेका हिंसाका घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न म सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु ।
महिला तथा बालबालिकाको सुरक्षा र सम्मान कुनै राजनीतिक दल वा विचारधारासँग मात्र सम्बन्धित विषय होइन, यो मानवीय मर्यादा, सामाजिक न्याय र राज्यको आधारभूत दायित्वसँग जोडिएको राष्ट्रिय प्रश्न हो । त्यसैले यस्ता जघन्य अपराधका घटनामा राज्यका सम्बन्धित निकाय, राजनीतिक दल, महिला तथा बाल अधिकारसँग सम्बन्धित संघ–संस्था, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिक एकजुट हुन आवश्यक छ ।
घटना भएपछि दोषीलाई सजाय दिनु मात्र पर्याप्त हुँदैन । यस्ता अपराध हुनै नदिने गरी बाल सुरक्षा प्रणाली सुदृढ गर्ने, प्रभावकारी अनुसन्धान तथा न्यायिक प्रक्रिया सुनिश्चित गर्ने, पीडित तथा परिवारलाई आवश्यक संरक्षण र न्याय प्रदान गर्ने र अपराधीलाई कुनै पनि प्रकारको राजनीतिक वा सामाजिक संरक्षण हुन नदिने दृढ राष्ट्रिय प्रतिबद्धता आवश्यक छ ।
म सबै राजनीतिक दल, तिनका भातृ तथा भगिनी संगठन, महिला तथा बाल अधिकारकर्मी, नागरिक समाज, सञ्चारमाध्यम र सचेत नागरिकहरूलाई दल र विचारभन्दा माथि उठेर महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्ध साझा नागरिक पहलमा एकताबद्ध हुन आह्वान गर्दछु । यस्तो साझा पहल र अभियानमा मेरो साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।
हाम्रा छोरीहरू र बालबालिकाको सुरक्षा, सम्मान र मर्यादाका लागि अब मौन बस्ने होइन, एकजुट भएर आवाज उठाउने र आवश्यक पहल गर्ने बेला आएको छ । कुनै पनि बालिका वा महिलाले फेरि यस्तो अमानवीय पीडा भोग्न नपरोस्, यसका लागि राज्य र समाज दुवैले गम्भीर आत्मसमीक्षा गर्दै प्रभावकारी कदम चाल्नुपर्छ ।
महिला र बालबालिकाको सुरक्षा तथा सम्मानका लागि हामी सबै एकजुट होऔँ ।


