काठमाडौं, ७ भदौ ।
नेकपा एमालेमा सामाजिक संजालमा पार्टी नीति र नेतृत्वविरुद्ध स्वच्छन्द तरिकाले लेख्ने नेता–कार्यकर्तामाथि केन्द्रीय अनुशासन आयोग कडा रुपले प्रस्तुत हुने भएको छ ।
अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यतामा २१ फागुनको निर्वाचनपछि पहिलो पटक आईतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको आयोगको आईतबारको बैठकले पार्टी अनुशासन उल्लंघन गरेर सामाजिक संजालमा विरह पोख्ने जोकोहीमाथि निगरानी बढाउने र त्यसका लागि तथ्य संकलनका लागि अलग्गै समिति बनाएको छ ।
सचिव डाक्टर राजेन्द्र घिमिरेको संयोजकत्वमा बनेको समितिलाई सामाजिक संजालमा क–कसले अनुशासन उल्लंघन गरेर जथाभावी पार्टी नीति र नेतृत्वविरुद्ध लेखिरहेका छन्, त्यसबारेमा सुक्ष्म निगरानी गरी तथ्य संकलन गर्ने जिम्मेवारी दिइएको छ ।
एघारौं महाधिवेशनपछि तीन पटक अनुशासन आयोगको बैठक बसेकोमा पहिलो बैठक महाधिवेशनलगत्तै, दोस्रो बैठक चुनावअघि र तेस्रो बैठक भने चुनावपछि पहिलो पटक बसेको आयोगका सदस्यहरुले जनाएका छन् ।
आयोगका अध्यक्ष भरतराज पहारीको अध्यक्षतामा बसेको बैठकमा चुनावमा भएको घात–अन्र्तघातको सन्दर्भमा पनि व्यापक चर्चा भएको थियो । त्यस सन्दर्भमा आयोगमा परेका अनेकन् उजुरीहरुमाथि पनि छलफल चलेको तर ती सबैमा अहिले नै टुंगो नलगाइएको आयोगका एक सदस्यले बताए । पार्टीमा संस्थापन ईतर पक्षका नेता–कार्यकर्ताले पार्टी पुनर्गठनको मुद्दा उठाएर सामाजिक संजालमा आफूविरुद्ध जथाभावी लेखेको र गतिविधि गरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले कारवाहीको चेतावनी दिँदै आएका छन् ।
यसै मेसोमा आयोगले कारवाहीको डण्डा चलाउने पृष्ठभूमि बनाउँदै तथ्य संकलनका लागि अलग्गै छानबिन समिति जस्तो बनाएपछि त्यसले निष्पक्ष काम गर्छ कि झन् विवाद बढाएर एमालेभित्र झन् विग्रहको अबस्था बनाउँछ, त्यसका लागि भने केही समय प्रतिक्षा गर्नुपर्ने अबस्था देखिएको छ ।
त्यसो त, बैठकमा केन्द्रीय अनुशासन आयोगका पूर्व अध्यक्षद्वय अमृतकुमार बोहोरा र केशब बडालले नै सामाजिक संजालमा जथाभावी लेखेको र युटुबहरुलाई अन्तर्वार्ता दिएको जस्ता विषयमाथिसमेत ध्यान जानेगरी चर्चा भएको बताइएको छ ।


