काठमाडौं,८ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार बोलाइएको प्रदेश सभा बैठक अन्ततः बस्न नसकी मंगलबारसम्मका लागि स्थगित भएको छ । दिनभर पटक–पटक बैठकको समय परिवर्तन गरिए पनि दलहरूबिच सहमति जुट्न नसकेपछि बैठक भोलि भदौ ९ गते अपराह्न ४ बजे बस्ने गरी सारिएको हो ।
प्रदेश सभा सचिव रामकुमार पौडेलले सोमबार राति सूचना जारी गर्दै विशेष कारणवश राति ८ बजेका लागि निर्धारण गरिएको बैठक पनि बस्न नसक्ने जनाएका छन्।
प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक मंगलबार अपराह्न ४ बजे बस्ने गरी पुनः निर्धारण गरेको सूचनामा उल्लेख छ ।
मुख्यमन्त्री थापाले नेपालको संविधानबमोजिम विश्वासको मत लिने उद्देश्यले सोमबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका थिए । तर, सत्तासाझेदार दलहरूभित्र देखिएको विवाद, विश्वासको मतबारे जारी राजनीतिक छलफल तथा दलहरूबिच सहमति जुट्न नसक्दा बैठक पटक–पटक सारिँदै गएको हो ।
पहिलो चरणमा दिउँसो १ बजेका लागि बोलाइएको बैठक साँझ ५ बजेसम्मका लागि सारिएको थियो । त्यसपछि साँझ ५ बजे पनि बैठक बस्न नसकेपछि राति ८ बजेका लागि नयाँ समय निर्धारण गरिएको थियो । तर, राति पनि सहमति कायम हुन नसकेपछि बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको हो ।
अब मंगलबार अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।


