काठमाडौं, १० भदौ । रसुवाबाट आएको बाढी धादिङको गल्छी क्षेत्रमा प्रवेश गरेसँगै ठुलो क्षति हुन थालेको छ।
बाढीले गल्छीमा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ। बाढीको सतह बढ्दै गएपछि आसपासका बस्ती र सडक क्षेत्रमा समेत जोखिम बढेको छ।
धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार अहिलेसम्म जिल्लामा ठूलो मानवीय क्षति भएको छैन। तर, बाढीले झोलुङ्गे पुल बगाएपछि गल्छी क्षेत्र थप जोखिममा परेको छ।
बाढीको जोखिम बढेपछि प्रशासनले खोला किनारका जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेको छ।
विशेषगरी मलेखु र गल्छी क्षेत्रका तटीय बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्गमा सवारी आवागमनसमेत रोकिएको छ।
काठमाडौँबाट बाहिरिएका सवारीसाधनलाई गल्छीमै रोकिएको छ भने बीच बाटोमा रहेका गाडीलाई अग्लो तथा सुरक्षित स्थानमा होल्ड गरिएको छ।
झोलुङ्गे पुल बग्नुका साथै बाढीको सतह निरन्तर बढिरहेकाले प्रशासनले अवस्था हेरेर थप सुरक्षा तथा उद्धारको तयारी अघि बढाइएको जनाएको छ।


