जेन जी शहिदका आदरणीय अभिभावक र आफन्तहरु
सादर नमस्कार
सुरुवात मै यति जरुर भनौं कि गत भाद्र २३ गते यहाँहरुको छोरा , छोरी र प्रिय आफन्तहरु देशमा व्याप्त भ्रष्टचारको अन्त्य होस भन्दै सडकमा शान्तिपूर्ण प्रदर्शन गर्न भनेर नै आएका हुन भन्नेमा सम्पूर्ण नेपाल एक ठाउँमा छ । देशमा सुशासन स्थापना गर्ने एक मात्रै मनसायले सडकमा आउँदै गर्दा उनीहरुको साथमा सिंगो नेपालको समर्थन थियो ।
उनीहरु लोकतान्त्रिक व्यवस्था र तदअनकुलको संविधानको खिलाफमा थिएनन , उनीहरु त त्यस व्यवस्था भित्र रहेर त्यसको मर्म विपरित कुशासन संचालन गर्दै रहेका पात्र र प्रवृति विरुद्ध थिए । त्यसैले उनीहरुले उठान गरेको मागमा सिंगो देशले ऐक्यवद्धता जनाएको थियो ।
त्यसैले नै ति कलिला युवा युवतीले गरेको आव्हानको पक्षमा सिंगो देश जोडिएको थियो तर विडम्वना उनीहरुको पवित्रताको पृष्ठभुमिमा अनेकन षड्यन्त्रकारीहरु आफ्नो आफ्नो स्वार्थको रोटि सक्ने षड्यन्त्र बुन्दै रहेछन भन्ने आन्दोलनको दिन देखि नै पुष्टि हुँदै आयो ।
त्यस आन्दोलनमा आएका युवाहरुलाइ अघि लगाएर कतिपयलाइ देश जलाउनु रहेछ , कतिपयलाइ अनेकन अपराधमा थुनिएका बन्दि भगाउनु रहेछ त कतिपयलाइ त्यसैको आडमा सत्ताको शिरमा बस्नु रहेछ । हो त्यस्तै भित्रि षड्यन्त्र र तत्कालिन अवस्थामा क्रियाशील राज्य संयन्त्रको असमवेदनशिल हर्कतको कारण ति निस्वार्थ जेन जी युवा युवतीले कल्पना पनि नगरेको ध्वंश आगजनीको जवाफी कारवाहीको नाममा उनिहरुको निर्मम हत्या गरियो ।
त्यो हत्या हुने ठाउँ सम्म के कसरि उनीहरुलाइ पुर्याइयो , कसले त्यहाँ गोलि हान्ने आदेश दियो र ति अवोध बाल बालिका देखि उर्जावान युवाहरुको रगतको होलि खेल्न को को जिम्मेवार थिए त्यसको स्वतन्त्र , न्यायिक र निस्पक्ष छानविन अझै हुन बाँकी नै छ ।
समयक्रममा केहि ढिलो भए पनि त्यो हुने नै छ , हामि त्यो गर्ने नै छौं तर त्यो नरसंहारको कारकहरु सम्म पुग्नु अगावै स्थापित एउटा सत्य के हो भने त्यस दिन जस जसले आफ्नो जीवन गुमाउनु भयो वहाँहरु समग्र राष्ट्रको लागि जीवन दिने शहिदहरु हो । वहाँहरुलाइ झुक्क्याएर मर्ने ठाउँसम्म लागिएको हो र वहाँहरुको असली सोच र चिन्तनको पहिचान नगरिकन अर्काको गल्तिमा वहाँहरु माथि गोलि हान्ने , हान्न आदेश निर्देश गर्ने सबै मानवता विरुद्धको कसुर गर्ने अपराधीहरु हुन र तिनलाइ ढिलो चाँडो दण्ड हुनुपर्छ र हुनेछ । जव त्यसो हुनेछ त्यसबेला नै ति महान जेन जी शहिदहरु प्रतिको असली सम्मान हुनेछ ।
आज ति महान जेन जी युवाहरुले सहादत प्राप्त गरेको ठ्याक्कै एक वर्ष र एक दिन भएको छ । विडम्वना नै भन्नु पर्छ जुन देशलाइ भएको भन्दा राम्रो बनाउनु पर्छ भन्दै गर्दा ति महान युवाहरुले सहादत प्राप्त गरे , उनीहरुको सहादतको बिल्कुल भोलि पल्ट उनीहरुले सुन्दर बनाउन खोजेको देशको प्रमुख संरचनाहरु खरानी बनाइयो । त्यसो गर्नेहरुले त्यो त्यही युवा हत्याको वदला स्वरूप भएको भनिरहेको भए पनि त्यो सत्य थिएन र हैन र म दावा साथ भन्न सक्छु भाद्र २४ गते जे भयो त्यसले दिवंगत जेन जी युवा युवतीको आत्मालाइ रुवाउने काम गर्यो भने परिवारलाइ झन ठुलो पिडा दियो ।
त्यसैले आजको दिनमा म समग्र जेन जी शहिद परिवार प्रति आम नेपालीहरु ( स्वदेश तथा विदेशमा बस्ने ) को तर्फ बाट तपाईंहरुले भोग्नु परेको पिडा प्रति माफी माग्दै , भोगेको पिडा प्रति सहनाभुती प्रकट गर्दै , यहाँहरु परिवारमा भएको अपुरणीय क्षेति प्रति पुन एक पटक हार्दिक समवेदना व्यक्त गर्दछु ।
अनि यति भन्न चाहन्छु कि तपाईंहरु सिंगो नेपालीको आफन्त हुनुहुन्छ , तपाईंहरुको साथमा सिंगो देश छ र रही रहनेछ र तपाईंहरु संगै देशले गुमाएको ति माहान जेन जी शहिदहरुको सम्मान हामी सदैव गरिरहने छौं । यति भन्दै एउटा अनुरोध पनि गर्न चाहन्छु कि नेपाल राष्ट्रलाइ भ्रष्टचार रहित सुशासन युक्त बनाउन उनीहरुले देखेको सपना पुरा गर्नु पर्ने साझा दाइत्व हामी सबैको काँधमा छ , त्यसैले त्यो अधुरो सपना पुरा गर्न तपाईं हामि सबै मिलेर धेरै काम गर्नुपर्ने छ ।
त्यसैले म बिनम्र अनुरोध गर्छु आउनुस हाम्रो मनको पिडालाइ सम्हाल्दै , आफुलाइ संगाल्दै मिलेर जेन जी शहिदहरुले कल्पना गरेको जस्तो सुन्दर देश बनाउन लागौं जहाँ अहंकार , दम्भ , अराजकता हैन सकारात्मकता , सुसंस्कार र सहकार्यको भावना सर्वव्यापी बनोस ।
–अमेरिका निवासी लेखक नेपालको राजनीति र सुरक्षा मामिलामा चासो राख्छन ।


