नेपाली कांग्रेसमा अहिले विचारको बहस कम र रिस, इगो तथा व्यक्तिगत हिसाब–किताब बढी हुन थालेको छ। को कसको साथमा रहने, को कहाँ उभिने, कसले कसलाई मान्ने, को पछाडि हट्ने र कसले कसलाई प्रहार गर्ने—यिनै गुटगत खेलले कांग्रेसको मूल प्रश्नलाई छायामा पारेको छ।
२०८२ साल पौष २७, २८ र २९ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनले पनि विवादलाई सामान्य गुटगत असहमतिको सीमाभन्दा बाहिर लैजाने संकेत गरेको छ। अब अधिवेशन कहिले हुन्छ, क्रियाशील सदस्यताको विवाद कसरी मिल्छ वा कुन समूहले कति प्रतिनिधि पाउँछ भन्ने मात्रै कांग्रेसको मूल प्रश्न होइन। मूल प्रश्न त कांग्रेस एउटै पार्टीका रूपमा अगाडि बढ्छ कि फरक–फरक गुट र धारमा विभाजित भएर अगाडि बढ्छ भन्ने हो।
कांग्रेसको स्थापना कालदेखि नै गुट थिए, भोलि पनि गुट रहन्छन् र सम्भवतः सधैँ रहनेछन्। गुट हुनु आफैंमा कांग्रेसको अस्वाभाविक चरित्र होइन। फरक यति हो—पहिला गुटहरू घरभित्रै झगडा गर्थे, अहिले घरको भित्ता नै दुईतिर चिरिएको देखिन्छ। दुवैतर्फबाट तानातान छ। चुनदेवीदेखि सानेपासम्मको भौगोलिक दूरी पाँच किलोमिटर हाराहारी होला, तर दुई ठाउँमा उभिएका कांग्रेसजनबीचको राजनीतिक भावना, विश्वास र मित्रताको दूरी भने हजारौँ कोष टाढा पुगेजस्तो देखिन्छ।
सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवासँग पटक–पटक संवाद गरेर विवादको प्रक्रियालाई टुंगोमा पुर्याउने प्रयास गरेको चर्चा छ। तर देउवाबाट अपेक्षित प्रतिक्रिया नआएपछि गगन स्वयं पनि एक प्रकारले हतोत्साहित भएको देखिन्छ। सभापतिले निवर्तमान सभापतिलाई भेट्न नपाउनु मात्रै ठूलो समस्या होइन। तर पार्टी विभाजनको डिलसम्म पुग्दै गर्दा दुई शीर्ष नेताबीच सामान्य संवादसमेत सहज हुन नसक्नु भने कांग्रेसका लागि गम्भीर राजनीतिक संकेत हो।
एक वर्षअघिको जेनजी विद्रोह र त्यसपछिका राजनीतिक घटनाक्रमले नेपालका राजनीतिक दलहरूलाई गम्भीर आत्मसमीक्षाको अवस्थामा पुर्याएको छ। त्यसमाथि लोकतान्त्रिक दल नेपाली कांग्रेसको गत पौषमा सम्पन्न विशेष महाधिवेशनले देखाएको अन्तरविरोध सामान्य गुटगत झगडाभन्दा धेरै पर पुगिसकेको संकेत गर्छ। पार्टीभित्रका शक्ति केन्द्रहरू दुई ध्रुवमा विभाजित छन्। दुवै पक्ष आफ्ना–आफ्ना एजेन्डा, वैधानिकता र राजनीतिक दाबी बोकेर उभिएका छन्।
अवस्था परिवर्तन भएन, यही तनाव निरन्तर रह्यो, कुनै राजनीतिक हस्तक्षेप भएन र कुनै राजनीतिक चमत्कार भएन भने कांग्रेस औपचारिक विभाजनको बाटोमा जान कसैको ठूलो तागत वा साहस आवश्यक नपर्न सक्छ। कांग्रेसलाई यहाँसम्म ल्याउन विशेष महाधिवेशन मात्र जिम्मेवार छैन। यसको पछाडि लामो समयदेखि फैलिँदै गएको अविश्वास, नेतृत्वप्रतिको असन्तुष्टि, भागबन्डाको राजनीति, पुस्तान्तरणको बहस र आफूअनुकूल पार्टी संरचना निर्माण गर्ने प्रवृत्तिको लामो शृङ्खला छ।
नेपाली कांग्रेस अहिले विस्फोटनको चरणमा पुगेको अनुभूति हुन्छ। विस्फोटको क्षति भौतिक रूपमा भोटेकोसीको बाढी वा पहिरोजस्तो देखिँदैन; यसको क्षति अझ गम्भीर हुनेछ—त्यो नेपाली राजनीतिमा लोकतान्त्रिक शक्तिको विभाजनका रूपमा प्रकट हुनेछ। विशेष महाधिवेशन त्यसैको परिणाम हो।
यस्तो अवस्थामा पार्टी जोगाउने प्रमुख जिम्मेवारी गगनकुमार थापाले नेतृत्व गरेको संस्थापन पक्षकै हो। नेतृत्वमा पुगेपछि सबै कुरा आफूले भनेजस्तो हुन्छ भन्ने मानसिकताले पार्टी चल्दैन। संकटमा परेको पार्टी त झन् त्यसरी चल्दै चल्दैन। नेतृत्वले असन्तुष्ट पक्षलाई सुन्नुपर्छ। विपक्षी गुटसँग संवाद र सहकार्य गर्नुपर्छ। आवश्यक परे आफ्नै निर्णयमाथि पुनर्विचार गर्ने राजनीतिक साहस पनि देखाउनुपर्छ।
तर जिम्मेवारी संस्थापन पक्षको मात्र होइन। असन्तुष्ट समूहले पनि आफ्नो भूमिका बिर्सन मिल्दैन। पार्टीमा असन्तुष्टि राख्नु स्वाभाविक हो। नेतृत्वमाथि प्रश्न उठाउनु लोकतान्त्रिक अभ्यास हो। तर हरेक असन्तुष्टिको अन्तिम गन्तव्य पार्टी विभाजन नै हुनुपर्छ भन्ने मानसिकता कांग्रेसका लागि अझ खतरनाक हुनेछ।
चुनदेवीमा भेला हुने समूहले अघि सारेका सातबुँदे मागलाई पनि यही सन्दर्भमा हेर्नुपर्छ। उनीहरूका लागि अधिवेशन सार्ने कि नसार्ने, क्रियाशील सदस्यताको विवाद कसरी मिलाउने भन्ने कुरा मात्रै मूल प्रश्न होइन। यी त सतहमा देखिएका प्राविधिक पक्ष हुन्। असन्तुष्ट पक्षको मूल चासो नेतृत्वको प्रश्नसँग जोडिएको देखिन्छ। महाधिवेशनमा शेरबहादुर देउवालाई नेता मानेर जाने वातावरण बनेमा मात्रै अन्य व्यवस्थापनका विषयमा छलफल गर्न सकिने उनीहरूको धारणा देखिन्छ।
त्यसैले क्रियाशील सदस्यता, अधिवेशनको मिति वा संगठनात्मक व्यवस्थापनमा मात्रै सहमति खोजेर कांग्रेसको गाँठो फुक्ने सम्भावना कमजोर छ। तर यहाँ अर्को विडम्बना पनि छ—पार्टी एकताको कुरा गर्ने नेताहरू नै आफ्नो अडानमा यति कस्सिएर बसेका छन् कि मिलनबिन्दु खोज्नुभन्दा पहिले ‘पहिला ऊ झुकोस्’ भन्ने मनोविज्ञान बलियो देखिन्छ।
राजनीतिमा यस्तो अहंकारले अन्ततः कसैलाई जिताउँदैन। यसले केवल पार्टीलाई हराउँछ।
कांग्रेसको बिरासत बोकेका नेताहरूबाट अहिले अझ ठूलो राजनीतिक परिपक्वताको अपेक्षा गरिएको छ। पार्टी जोगाउने जिम्मेवारी जसरी पार्टी सभापतिको हुन्छ, त्यसरी नै आफूलाई पार्टीको वैकल्पिक शक्ति ठान्ने नेताहरूको पनि हुन्छ।
इतिहासले एक दिन सबैलाई एउटै प्रश्न सोध्नेछ—संकटका बेला तपाईंले पार्टी जोड्न के गर्नुभयो?
त्यसैले अहिले कांग्रेसलाई शक्ति प्रदर्शन होइन, संवाद चाहिएको छ। भेला होइन, वार्ता चाहिएको छ। सार्वजनिक वक्तव्य होइन, राजनीतिक समझदारी चाहिएको छ। गुटगत शक्ति देखाएर अर्को पक्षलाई दबाउने खेलले केही समयका लागि कसैलाई बलियो देखाउन सक्छ, तर त्यसले कांग्रेसलाई बलियो बनाउने छैन।
अहिलेको राजनीतिक परिस्थिति पनि कांग्रेसका लागि अवसरविहीन छैन। सरकारका कामकारबाहीप्रति असन्तुष्टिहरू देखिन थालेका छन्। यस्तो अवस्थामा जनताले फेरि कांग्रेसतर्फ हेर्न सक्ने सम्भावना बलियो छ। तर विडम्बना के छ भने जनता कांग्रेसतर्फ फर्किन खोज्दै गर्दा कांग्रेस भने आफ्नै घरको झगडामा अल्झिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीप्रति चरम असन्तुष्टि बढिरहेको र कम्युनिस्ट शक्तिहरू कमजोर हुँदै गएको अवस्थामा कांग्रेसले आफूलाई सुधार गरेर अगाडि किन नबढाउने? राजनीतिमा सधैँ अवसर आउँदैन। विरोधीको कमजोरी आफ्नै शक्ति बन्न सक्छ। तर त्यसका लागि पहिले आफ्नै कमजोरी हटाउन सक्नुपर्छ। कांग्रेसले पाएको सम्भावित राजनीतिक स्पेस आफ्नै आन्तरिक कारणले साँघुरो बनाइरहेको छ।
जनताको असन्तुष्टिलाई राजनीतिक मतमा बदल्नुपर्ने दल आफ्नै नेताहरूको असन्तुष्टि व्यवस्थापन गर्न नसक्ने अवस्थामा पुग्नु कांग्रेसका लागि गम्भीर विडम्बना हो।
कांग्रेसको समस्या समाधान गर्न कुनै जादुको छडी चाहिँदैन। चाहिन्छ केवल राजनीतिक इमानदारी, संवाद गर्ने धैर्य र केही कुरा छोड्ने हिम्मत।
चुनदेवी समूहले आफ्ना माग राखिसकेपछि समाधानका लागि कुनै बिन्दुसम्म लचक हुनुपर्छ भन्ने विषयमा पनि स्पष्ट हुनुपर्छ। त्यसैगरी पार्टीलाई थप समस्यामा अल्झाउने, संवादभन्दा अडानलाई प्राथमिकता दिने र व्यक्तिगत स्वार्थलाई संगठनभन्दा माथि राख्ने प्रवृत्तिलाई कांग्रेसले निरुत्साहित गर्नैपर्छ। कृष्णप्रसाद सिटौलाजस्ता प्रभावशाली पात्रहरूको भूमिकामाथि पनि कांग्रेसभित्र निर्मम तर निष्पक्ष समीक्षा आवश्यक छ। कान्छाराम तामाङ, मोहन बस्नेतजस्ता विवादित तथा अराजक प्रवृत्तिलाई प्रश्रय दिँदै जाने हो भने कांग्रेसले आफ्नो लोकतान्त्रिक संस्कारमाथि आफैं प्रश्न उठाउनेछ।
व्यापारी वर्ग वा दलाल प्रवृत्तिका त्यस्ता पात्रहरू, जसले पार्टीलाई राजनीतिक संस्था होइन दोहनको माध्यम बनाएका छन्, उनीहरूलाई संरक्षण गर्ने होइन, पार्टीभित्रबाटै निषेध गर्ने साहस कांग्रेसले गर्नुपर्छ। कांग्रेस जनताको प्रतिनिधि पार्टी बन्ने हो भने पार्टीभित्र स्वार्थको व्यापार गर्ने संस्कृतिको अन्त्य गर्नैपर्छ।
अहिले आएर देउवा समूहका केही प्रभावशाली नेताहरूले देउवाको साथ छाड्ने संकेत देखाएपछि कांग्रेसभित्रको समीकरण थप रोचक बनेको छ। विवाद मिलाउने प्रयाससँगै गुटगत हिसाबकिताब पनि फेरिँदै गएको छ। अब कांग्रेसमा कसले कसको साथ छाड्छ, कसले कसको हात समाउँछ, को कुन ध्रुवमा उभिन्छ र को अन्ततः पार्टीको पक्षमा उभिन सक्छ—यी प्रश्नले कांग्रेसको आगामी भविष्य निर्धारण गर्नेछन्।
तर अन्तिम प्रश्न गुटको होइन, कांग्रेसको हो।
कांग्रेस कसको हुन्छ—कुनै व्यक्ति, कुनै गुट वा कुनै शक्ति केन्द्रको? कि फेरि लाखौँ कार्यकर्ता र लोकतान्त्रिक आकांक्षा बोकेको एउटै राजनीतिक पार्टीको?
यही प्रश्नको उत्तर खोज्न नसके कांग्रेसको संकट अधिवेशनले समाधान गर्ने छैन। अधिवेशन त केवल मिति हो। वास्तविक
समाधान त कांग्रेसका नेताहरूको राजनीतिक विवेक, संयम र त्यागमा निर्भर छ।
आज कांग्रेसलाई जित्ने नेता होइन, कांग्रेसलाई बचाउने नेता चाहिएको छ।
गुट जित्ने रणनीति होइन, पार्टी जोगाउने दूरदृष्टि चाहिएको छ।
रिसको हिसाब होइन, इतिहासको हिसाब गर्नुपर्ने बेला आएको छ।
लेखक पूर्व एसपी हुन । सुरक्षा र राजनीतिमा गहिरो जानकार राख्छन् ।


