काठमाडौं, २७ भदौ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले प्रभावित क्षेत्रका स्थानीयको जनजीवन पछिल्लो १७ दिनदेखि अस्तव्यस्त छ । कति सिंगो परिवार नै बेपत्ता छन् । जीवित नै भएका कतिपयले परिवारका सदस्य गुमाएका छन् ।
परिवार सबै सकुशल रहेकाहरूको पनि जीवनभर कमाइ गरेर जोडेको घर, महत्वपूर्ण कागजात, बहुमूल्य धातु भग्नावशेष बनेको छ । बाढीबाट घर, परिवार गुमाएकाहरू कोही आफन्तकहाँ शरण लिइरहेका छन्, कोही होल्डिङ सेन्टरमा छन् ।

जीवित रहेकाहरू भग्नावशेष बनेको घरमै हिलो, ढुंगा, गेग्य्रान पछ्याइरहेको भेटिन्छन् । रसुवा, नुवाकोट, धादिङ हुँदै त्रिशूली नदीको तटीय क्षेत्रका बस्ती र त्यहाँका मानिस दीर्घकालसम्म असर गरिरहने विनाशकारी बाढीको पीडामा छन् । तत्कालै सामान्य अवस्थामा फर्कन सक्ने वातावरण छैन । बाढीमा ठूलो मानवीय क्षति हुनुका साथै घर, बजार, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेको छ ।
यस्तो अवस्थामा सहयोग पुर्याउने हेतुले थोर्गा काठमाडौं सम्पर्क तथा विकास मञ्ज र लायन्स क्लब अफ काठमाडौं, ओपेरा सिटीले बानेश्वरको रत्नराज्य लक्ष्मी स्कूलमा बृहद रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।











