काठमाडौं, २६ भदौ ।
एमाले उपाध्यक्ष विष्णु पौडेलले अर्का उपाध्यक्ष रामबहादुर थापा‘बादल’को शैलीप्रति गम्भीर आपत्ति जनाएका छन् ।
उनले एमालेको इतिहास, एमालेले लिने निर्णयको तरिका, प्रतिवेदन लेख्ने, अभिव्यक्ति दिने शैलीमा अझै पनि जानकार र अभ्यस्त हुन नसको भन्दै पौडेलले ‘बादल शैली’प्रति गम्भीर आपत्ति जनाएका हुन् । पार्टी छलफल र निर्णयबाहिर गएर अध्यक्ष केपी शर्मा ओलीको प्रतिरक्षा गर्ने नाममा बादल निर्वाचनपछि चर्को स्वरमा सुनिदैं आएका छन् ।
केन्द्रीय कार्यालय, च्यासलमा शुक्रबार बसेको चुनावको समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा अध्यक्षता गरिरहेका संयोजक बादलले नै छलफलका लागि भनेर अलग–अलग दुईओटा प्रतिवेदन प्रस्तुत गर्न खोजेपछि सबै नेताहरु उनीमाथि खनिएका थिए । संयोजकले नै दुईओटा प्रतिवेदन छलफलमा लगेर मत विभाजन गर्न खोजेको भन्दै पौडेलले गम्भीर आपत्ति जनाए ।
‘कार्यदलले महासचिवले प्रतिवेदनको मस्यौदा लेख्ने, संयोजकले थपघट गरेर छलफलका लागि प्रस्तुत गर्ने निर्णय गरेको हो, तर तपाईंले त अर्को प्रतिवेदन ल्याएर दुईओटै प्रतिवेदन छलफल गराएर के गराउनु खोज्नुभो ? मत विभाजन गरेर पार्टीलाई कता लैजान खोज्नुभएको ?’ पौडेलले आक्रमक प्रतिवाद गरे,‘तपाईंले एमालेलाई बुझ्नु भएन, एमालेको शैली भाका नै टिप्नसक्नुभएन, पहिले एमालेको कल्चर बुझ्नुस्, यसरी पार्टी वलियो बन्दैन ।’ पौडेलको प्रतिवादलाई अधिकांशले समर्थन गरेपछि बैठक दुवै प्रतिवेदनमाथि छलफल नै नगरी एउटै प्रतिवेदन बनाउने निर्णयसहित सम्पन्न भएको कार्यदलकै एक सदस्यले बताए ।


