गगन थापाले नेतृत्व गरिरहेको नेपाली कांग्रेसको महाधिवेशनलाई नजिकबाट नियाल्ने अवसर मिल्यो। महाधिवेशनमा पुगेपछि एउटा कुरा भने प्रस्ट बुझियो—कांग्रेसमा भाषण गर्नेहरूको कमी छैन, तर आफ्नो अनुहार ऐनामा हेर्ने फुर्सद भएका मानिसहरूको भने ठूलै खडेरी रहेछ।
मञ्चमा उभिएर परिवर्तनका चर्का नारा लगाउनेहरू हेर्दा लाग्छ, नेपालमा अब भ्रष्टाचार बाँकी छैन, गुटबन्दीको अन्त्य भइसकेको छ, अवसरवाद इतिहासको विषय बनिसक्यो र कांग्रेसभित्र सिद्धान्तको पुनर्जागरण भइसकेको छ।
तर मञ्चबाट तल झरेपछि दृश्य अर्कै छ।
हिजो जसलाई असक्षम भनेर गाली गर्नेहरू आज उसैको खल्ती समातेर टिकट खोजिरहेका छन्। हिजो अवसरवादको विरोध गर्नेहरू आज अवसरको ढोका खुल्नेबित्तिकै सबैभन्दा अगाडि लाइनमा छन्। हिजो परिवारवादविरुद्ध भाषण गर्नेहरू आज आफ्नै परिवारको राजनीतिक भविष्य सुरक्षित गर्ने दौडमा छन्।
कांग्रेसको महाधिवेशन कहिलेकाहीँ पार्टीको आन्तरिक लोकतन्त्रभन्दा बढी राजनीतिक अभिनयको वार्षिक महोत्सव जस्तो देखिन्छ।
भाषणमा क्रान्ति, व्यवहारमा सम्झौता।
मञ्चमा सिद्धान्त, पछाडिको कोठामा समीकरण।
सार्वजनिक रूपमा आदर्श, निजी रूपमा हिसाब–किताब।
यही हो आजको कांग्रेसको सबैभन्दा ठूलो विडम्बना।
अझ रमाइलो दृश्य त त्यतिबेला देखिन्छ, जब आफ्नै राजनीतिक घरबाट अस्वीकृतजस्तै भएका पात्रहरू अरूलाई लोकतन्त्रको प्रमाणपत्र बाँड्न थाल्छन्। आफ्नै संगठनमा विश्वास जगाउन नसक्नेहरू राष्ट्र परिवर्तनको ठेक्का लिन तयार छन्।
राजनीतिको यो दृश्यलाई हेर्दा कहिलेकाहीँ लाग्छ—कांग्रेसमा नेता धेरै छन्, तर नेतृत्वचाहिँ खोजीमा छ।
महाधिवेशनको अर्को कुनामा कैलालीका केही युवाहरू देखिए। विगतमा मासु–भात, भोजभतेर र क्षणिक आकर्षणले प्रभावित भएर मतदान गर्ने भनिएका युवाहरू आज मास्कले मुख छोपेरै भए पनि हाकाहाकी प्रश्न गरिरहेका छन्।
यो दृश्यलाई सामान्य ठान्नु ठूलो भूल हुनेछ।
अनुहार मास्कभित्र होला, तर प्रश्न खुला छ।
हिजो भोजमा पेट भरिएको हुन सक्छ, तर आज चेतना जागेको छ।
हिजो कसैको गाडीमा बसेर चुनावी नारा लगाइएको हुन सक्छ, आज आफ्नै विवेकले प्रश्न गर्न थालिएको छ।
राजनीतिक दलका लागि यो परिवर्तन खतराको घण्टी हो।
किनकि पेट भर्न सकिन्छ, मतपत्र किन्न सकिन्छ भन्ने भ्रम केही समयसम्म टिक्न सक्छ; तर जागेको मतदाताको विवेक लामो समय किन्न सकिँदैन।
कांग्रेसले यही कुरा बुझ्न जरुरी छ।
महाधिवेशनमा भीड देखाएर जनमतको भ्रम पाल्नु र समाजको बदलिँदो मनोविज्ञान बुझ्नु दुई फरक कुरा हुन्।
अर्कोतिर, महाधिवेशनको गम्भीर राजनीतिक वातावरणमा नेपालको टिकटकमा सदाबहार रूपमा नयाँ–नयाँ पहिरनमा प्रस्तुत भइरहने शान्ति बरालको उपस्थितिले पनि छुट्टै रौनक थपेको देखियो। राजनीतिका गम्भीर अनुहार, गम्भीर भाषण र गम्भीर समीकरणबीच सामाजिक सञ्जालको रंगीन संसारबाट आएको यस्तो उपस्थितिले महाधिवेशनलाई झन् ‘कांग्रेसमय’ मात्र होइन, केही हदसम्म ‘मनोरञ्जनमय’ पनि बनाइदिएको अनुभूति हुन्थ्यो।
आखिर कांग्रेसको महाधिवेशन हो—यहाँ विचार पनि चाहिन्छ, गुट पनि चाहिन्छ, नारा पनि चाहिन्छ, समीकरण पनि चाहिन्छ; अनि बीच–बीचमा सेल्फी र टिकटकका लागि सामग्री पनि त चाहियो!
तर मजाकको तहभन्दा माथि उठेर हेर्ने हो भने कांग्रेसका अगाडि एउटा गम्भीर प्रश्न छ।
के कांग्रेस साँच्चै बदलिँदैछ, कि केवल कांग्रेसभित्रका अनुहारहरू फेरिँदैछन्?
नेतृत्व फेरिएर मात्र पार्टी बदलिँदैन।
पोस्टर फेरिएर विचार बदलिँदैन।
नारा फेरिएर संस्कार बदलिँदैन।
र महाधिवेशनको मञ्चमा ‘नयाँ कांग्रेस’ भनेर हजार पटक चिच्याउँदैमा नयाँ कांग्रेस जन्मिँदैन।
नयाँ कांग्रेस जन्मिनका लागि पुरानो प्रवृत्ति मर्नुपर्छ।
गुटको राजनीति मर्नुपर्छ।
चाकडीको संस्कृति मर्नुपर्छ।
अवसरवादको राजनीति मर्नुपर्छ।
र सबैभन्दा पहिले नेताहरूले आफ्नै अनुहार ऐनामा हेर्ने बानी बसाल्नुपर्छ।
नत्र महाधिवेशन सकिन्छ, पोस्टर च्यातिन्छन्, मञ्च भत्किन्छ, भाषणहरू बिर्सिन्छन्—तर कांग्रेस उही रहन्छ।
केवल अर्को महाधिवेशनमा फेरि उही पात्रहरू नयाँ नारासहित आउनेछन्।
त्यसपछि फेरि भनिनेछ—
“अब कांग्रेस बदलिन्छ।”
र जनता फेरि मुस्कुराउनेछन्।
किनकि नेपाली जनताले कांग्रेसका भाषण धेरैपटक सुनेका छन्।
अब उनीहरू व्यवहार हेर्न चाहन्छन्।
महाधिवेशनको वास्तविक फैसला मतपत्रमा मात्र हुँदैन।
महाधिवेशनपछि कांग्रेसले आफ्नै ऐनामा आफूलाई कस्तो देख्छ—त्यही नै असली फैसला हुनेछ।
लेखक पूर्व एसपी हुन । सुरक्षा र राजनीतिमा गहिरो जानकार राख्छन् ।


