काठमाडौं, १९ कात्तिक । सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेलले सम्भावित आन्दोलन, विरोध प्रदर्शन र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै देशभरका सशस्त्र प्रहरीका सबै युनिटलाई उच्च अपरेसनल रेडीनेसमा रहन निर्देशन दिएका छन्।
बिहीबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको कार्य विभागले आयोजना गरेको भर्चुअल सम्मेलन, २०८३ को उद्घाटन गर्दै आईजीपी पौडेलले बाहिनी, गण, गुल्म तथा बेस तहसम्मका कमान्डरलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन्।
उनले भीड नियन्त्रणका क्रममा अनावश्यक बल प्रयोग नगर्न र कानुनसम्मत, समानुपातिक तथा आवश्यकताका आधारमा मात्रै बल प्रयोग गर्न स्पष्ट निर्देशन दिए।
सम्भावित आन्दोलन र विरोध कार्यक्रमलाई ध्यानमा राख्दै पूर्वतयारी र सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन पनि उनले आग्रह गरे। सीमा सुरक्षा र विपद् व्यवस्थापनमा दुई दशकभन्दा बढी अनुभव हासिल गरिसकेको सशस्त्र प्रहरीले अब त्यसलाई परिणाममा देखाउनुपर्ने पौडेलको भनाइ थियो।

यस्तै सीमामा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि समकक्षी सुरक्षा निकायसँग समन्वय बढाउन र सूचना संकलन संयन्त्र बलियो बनाउन उनले निर्देशन दिए।
कमान्डरको मूल्यांकन अधिकारका आधारमा नभई उत्तरदायित्व र नैतिक नेतृत्वका आधारमा हुने उल्लेख गर्दै उनले दबाबका समयमा समेत परिपक्व निर्णय लिन र मातहतको कार्यसम्पादनको पूर्ण जिम्मेवारी लिन निर्देशन दिए।
पौडेलले संगठनभित्र भ्रष्टाचार, अनियमितता, दुराचार र अनुशासनहीनताविरुद्ध शून्य सहनशीलताको नीति कडाइका साथ लागू गरिने बताए। सोही अवसरमा आईजीपी पौडेलले विपद् व्यवस्थापन समन्वय तथा कार्य सञ्चालन केन्द्रको उद्घाटनसमेत गरेका थिए।

