काठमाडौं, २० कात्तिक । अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास भइरहेका बेला इरानले अमेरिकासमक्ष सात सर्तसहितको नयाँ प्रस्ताव पठाएको छ ।
कतारमार्फत अमेरिकासम्म पुर्याइएको प्रस्तावमा इरानले आफ्ना सर्त पूरा भएपछि मात्रै आणविक कार्यक्रमबारे वार्ता गर्ने र होर्मुज जलमार्ग खोल्ने जनाएको छ ।
रोयटर्सका अनुसार, इरानका एक वरिष्ठ अधिकारीले अमेरिकाले प्रस्तावको समीक्षा गरिरहेको बताएका छन् ।
वार्ताका लागि इरानका सात सर्त
इरानले अमेरिकासमक्ष राखेको प्रस्तावमा सात सर्त समेटिएको बताइएको छ ।
इरानले आफूविरुद्ध अमेरिकाले लगाएका आर्थिक प्रतिबन्ध पूर्ण रूपमा हटाउनुपर्ने माग गरेको छ । प्रतिबन्धका कारण उसलाई अन्तर्राष्ट्रिय व्यापार गर्न र विश्व बजारमा तेल बिक्री गर्न कठिनाइ हुँदै आएको छ ।
विदेशी बैंक तथा वित्तीय संस्थामा रोक्का रहेको आफ्नो सम्पत्ति फिर्ता गर्नुपर्ने इरानको माग छ । अमेरिकी प्रतिबन्धका कारण इरानको ठूलो रकम विदेशमा रोकिएको छ ।
यसबाहेक युद्धका क्रममा इरानी सैन्य संरचना, पूर्वाधार र अन्य सम्पत्तिमा भएको क्षतिको क्षतिपूर्ति अमेरिकाले दिनुपर्ने इरानको माग छ ।
इरानको अर्को सर्त इरानी बन्दरगाह र सामुद्रिक कारोबारमाथि अमेरिकाले लगाएको नाकाबन्दी अन्त्य गर्नुपर्ने छ । नाकाबन्दीका कारण इरानको समुद्री व्यापार प्रभावित भएको छ ।
इरानले अन्तर्राष्ट्रिय बजारमा निर्बाध रूपमा तेल बिक्री गर्न पाउनुपर्ने माग गरेको छ । यसका लागि तेल कारोबारमाथि लगाइएका प्रतिबन्ध हटाउनुपर्ने उसको सर्त छ ।
यसका अतिरिक्त अमेरिका र इजरायलले इरानमाथि मात्र नभई क्षेत्रमा उसका सहयोगी संगठनहरूमाथि समेत सैन्य कारबाही बन्द गर्नुपर्ने पनि इरानको माग छ ।
अमेरिकाले पश्चिम एसियामा आफ्नो सैन्य उपस्थिति कम गर्नुपर्ने इरानको अर्को सर्त छ । यसअन्तर्गत क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा र सैनिकको संख्या घटाउनुपर्ने उसको माग छ ।
आणविक मुद्दामा किन अड्किएको छ वार्ता ?
अमेरिका र इरानबीचको मुख्य विवाद आणविक कार्यक्रमलाई लिएर छ । अमेरिकाले इरानको आणविक गतिविधिमाथि वार्ता गरी उसले आणविक हतियार विकास नगर्ने सुनिश्चितता खोजिरहेको छ ।
तर, इरानले आणविक मुद्दामा वार्ता सुरु गर्नुअघि आफूविरुद्धका आर्थिक तथा अन्य प्रतिबन्ध हटाउनुपर्ने अडान राख्दै आएको छ ।
यसरी दुवै देश वार्ताका लागि तयार देखिए पनि त्यसको सुरुआत कुन विषयबाट गर्ने भन्नेमा सहमति हुन सकेको छैन । अमेरिका पहिले आणविक कार्यक्रमबारे छलफल गर्न चाहन्छ भने इरान प्रतिबन्ध हटाउने र अन्य सर्त पूरा गर्ने विषयलाई प्राथमिकतामा राखिरहेको छ ।
अमेरिका र इरानबीच प्रत्यक्ष वार्ताको वातावरण बन्न नसकेपछि कतारलगायतका देशले मध्यस्थको भूमिका निर्वाह गर्दै आएका छन् । यसपटक पनि इरानले आफ्नो प्रस्ताव कतारमार्फत अमेरिकासम्म पुर्याएको हो ।
कतार यसअघि पनि दुई देशबीच वार्ता गराउने र तनाव कम गर्ने कूटनीतिक प्रयासमा संलग्न रहँदै आएको छ । त्यसैले नयाँ प्रस्तावमाथिको छलफलमा पनि उसको भूमिका महत्वपूर्ण हुन सक्ने देखिन्छ ।
हालसम्म अमेरिकाले इरानको प्रस्ताव स्वीकार गरेको पुष्टि भएको छैन । अमेरिकी समीक्षा र त्यसपछिको प्रतिक्रियाले दुई देशबीच वार्ताको सम्भावना र युद्ध अन्त्यका प्रयास कुन दिशामा अघि बढ्छन् भन्ने निर्धारण गर्नेछ ।


