काठमाडौं, २ मंसिर ।
नेकपा (एमाले)को राष्ट्रिय भेला केहीबेरमा उद्घाटन हुँदै छ । भेलामा सहभागी प्रतिनिधिहरु यतिखेर भेलास्थल कार्की बेङ्क्वेट थापाथली हाइटमा जुट्दै छन् । देशभरबाट ३४ सय १४ प्रतिनिधिहरु सहभागी हुँदै छन् ।
अध्यक्ष केपी शर्मा ओली उद्घाटनका लागि राष्ट्रिय भेला उद्घाटन समारोहस्थल आइपुगिसक्नु भएको छ । भेलामा सहभागीहरुको हाजिरी र परिचयपत्र (कार्ड) वितरण धमाधम भइरहेको छ । भेलामा पुराना वामपन्थी नेताहरु मोहनचन्द्र अधिकारी, वाचश्पति देवकोटा, हरिचरण सिवाकोटी र बिजयलाल श्रेष्ठ सहभागी हुनु भएको छ । बिजयलाल नेकपा संस्थापक महासचिव पुष्पलालको भाइ हुनुहुन्छ ।

राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा निर्देश गर्न र स्थानीय तहको निर्वाचनको पूर्वतयारीका लागि भेला आयोजना गरिएको हो । पार्टी जीवनमा स्थानीय कमिटी तहदेखि केन्द्रीय कमिटी, संसददेखि पालिकासम्मका जप्रतिनिधिसहितको यो पहिलो भेला हो । २०८२ भदौ २३-२४ को जेनजी उपद्रव पछि मुलुकमा उत्पन्न राष्ट्रिय राजनीतिक निकासका लागि भेलामा बहस हुने छ । भेलाले राजनीतिक कार्यदिशा, आउँदो स्थानीय तहको चुनावको पूर्व तयारी बारे प्रशिक्षणसहित पार्टीको राजनीतिक लाइनमा एकरुपताको सन्देशसहित ऊर्जा प्रदान गर्ने छ ।
गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरुको कार्यन्यवनमा एकरुपता र पार्टीले गर्नुपर्ने १५ कामको जिम्मेवारी र कार्य सम्पादन सम्बन्धी भेलामा छलफल हुने छ ।
भेलामा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश र जिल्लाका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष, जनसंगठन, केन्द्रीय निकाय, संघीय र प्रदेशका सांसदहरु, स्थानीय तहका प्रमुख र उपप्रमुखहरु सहभागी हुने छन् ।
भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन सहित विशेषा सम्बोधन गर्नु हुने छ । त्यसैगरी वरिष्ठ नेता तथा सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्बोधन हुनेछ । वरिष्ठ नेता भण्डारी पार्टीमा औपचारिक पुनरागमन पछि पहिलो र विशेष सम्बोधन हुनेछ ।
त्यसैगरी उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ छ ।


