काठमाडौं, ४ मंसिर । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का शीर्ष अधिकारीहरूसँग भेटवार्ता गरेका छन्।
थाइल्यान्डको बैंककमा आयोजित एएफसी अवार्ड्स समारोहका क्रममा मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो तथा एएफसीका प्रतिनिधिहरूसँग भेट गरेका हुन्। भेटका क्रममा उनले फिफा र एएफसीका अधिकारीहरूलाई उपहारसमेत प्रदान गरेका थिए।
भेटवार्तामा अखिल नेपाल फुटबल संघ (एन्फामाथि लागेको निलम्बन फुकुवाको विषयले प्राथमिकता पाएको मन्त्री पोखरेलले बताएका छन्। उनका अनुसार छलफलमा एन्फाको कानुनी प्रक्रिया, तहगत निर्वाचन तथा निलम्बन फुकुवाका विषयमा सकारात्मक कुराकानी भएको थियो।
एन्फाले तहगत निर्वाचन गर्ने सहमति जनाएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि एन्फामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। राखेपको निर्णयसँगै अब फिफाले समेत एन्फामाथिको निलम्बन हटाउने दिशामा मौखिक सहमति जनाएको मन्त्री पोखरेलको भनाइ छ।
यससँगै एन्फामाथिको अन्तर्राष्ट्रिय निलम्बन फुकुवाका लागि आवश्यक प्रशासनिक तथा कानुनी प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। सबै प्रक्रिया पूरा भएपछि नेपाली फुटबलले अन्तर्राष्ट्रिय प्रतियोगिता तथा गतिविधिमा नियमित सहभागिताको बाटो खुल्ने विश्वास गरिएको छ।


