काठमाडौं, ४ मंसिर । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग नयाँदिल्लीमा आधा घण्टा एक्लाएक्लै वार्ता गर्ने भएका छन्। दुईदिने भ्रमणका क्रममा नेपाल–भारत आर्थिक सहकार्य, थप हवाई प्रवेश मार्ग, विकास आयोजना र द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने कार्यसूची तयार गरिएको छ।
भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह यही ६ र ७ मंसिरमा भारत भ्रमणमा जान लागेका हुन्। भ्रमणलाई उपलब्धिमूलक बनाउन दुवै देशले तयारी तीव्र पारेका छन्। प्रधानमन्त्रीको भ्रमणको तयारीका विषयमा परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच सोमबार छलफल भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटमा प्रधानमन्त्री शाहको भ्रमण तालिका, सम्भावित कार्यसूची र दुई देशबीच हुन सक्ने सम्झौता तथा समझदारीका विषयमा छलफल भएको थियो। भ्रमणको तयारी र कार्यसूचीलाई अन्तिम रूप दिन परराष्ट्र मन्त्रालय तथा सुरक्षा निकायका अधिकारी सम्मिलित नेपाली टोली यसै साता नयाँदिल्ली जाने तयारीमा छ।
प्रधानमन्त्री शाह र मोदीबीच हुने एक्लाएक्लै वार्तापछि दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक छलफल हुनेछ। उक्त वार्तामा प्रस्तावित आर्थिक सहयोग प्याकेज, हवाई सम्पर्क विस्तार तथा विकास आयोजनालाई प्राथमिकता दिइने अधिकारीहरूले बताएका छन्।
हवाई प्रवेश मार्गमा भारतको सकारात्मक संकेत
प्रधानमन्त्री शाहको भ्रमणमा सबैभन्दा महत्त्वपूर्ण र रणनीतिक विषय हवाई प्रवेश मार्ग बन्ने देखिएको छ। नेपालले लामो समयदेखि भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट भारतीय आकाश हुँदै अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आग्रह गर्दै आएको छ। तर, सुरक्षा संवेदनशीलताको कारण देखाउँदै भारतले यस विषयमा निर्णय दिन आनाकानी गर्दै आएको छ।
पछिल्लो समय विशेषगरी महेन्द्रनगरबाट हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषयमा भारत सकारात्मक देखिएको नेपाली अधिकारीहरूको भनाइ छ। भैरहवाका लागि समेत प्रस्तावित हवाई मार्गमा सहमति जुटाउने प्रयास भइरहेको छ।
यद्यपि, हवाई मार्गको प्राविधिक पक्षमा अझै टुंगो लाग्न बाँकी छ। महेन्द्रनगरबाट प्रवेश गर्दा विमानले भारतीय आकाशमा तुलनात्मक रूपमा बढी उचाइबाट प्रवेश गर्नुपर्ने हुन्छ भने भैरहवाको प्रस्तावित मार्ग कम उचाइबाट प्रवेश गर्न मिल्ने भएकाले नियमित उडान तथा अवतरणका लागि बढी व्यावहारिक मानिएको छ।

यसै विषयमा छलफल गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी सम्मिलित टोली नयाँदिल्ली पुगिसकेको छ। भारतले महेन्द्रनगर, जनकपुर र भैरहवाबाट फरक–फरक उचाइमा हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषयमा सकारात्मक संकेत दिएको नेपाली अधिकारीहरूको दाबी छ।
भारतले रक्सौलमा विमानस्थल निर्माण गरिरहेको र त्यसका लागि नेपाली हवाई क्षेत्र प्रयोग गर्न चाहेको विषयसमेत छलफलमा उठेको छ। नेपालले भने आवश्यक प्राविधिक विवरण माग गर्दै तत्कालका लागि उक्त प्रस्ताव स्वीकार नगरेको अधिकारीहरूले बताएका छन्। बागडोगराका लागि नेपाली हवाई क्षेत्रको सीमित प्रयोग गर्ने भारतीय प्रस्तावप्रति भने नेपाल सकारात्मक देखिएको छ।
हवाई मार्गसम्बन्धी वार्तालाई निष्कर्षमा पुर्याउन पर्यटनमन्त्री खडकराज पौडेल पनि भारत जाने तयारीमा छन्। उनको भ्रमणमा प्राविधिक तथा नीतिगत विषय टुंग्याउने प्रयास हुनेछ। आवश्यक विषयमा दुवै देशका नागरिक उड्डयन अधिकारीबीच थप भर्चुअल छलफलसमेत गर्ने तयारी छ।
विकास आयोजना उद्घाटन र आर्थिक प्याकेजको अपेक्षा
प्रधानमन्त्री शाहको भ्रमणमा भारतले नेपालको आग्रहअनुसार आर्थिक सहयोग प्याकेज घोषणा गर्ने तथा भारतीय सहयोगमा निर्माण हुने नयाँ आयोजनाको शिलान्यास र सम्पन्न आयोजनाको उद्घाटन गर्ने अपेक्षा गरिएको छ।
भ्रमणका क्रममा अयोध्या–जनकपुर सीधा रेलमार्ग, काभ्रेको पनौतीमा निर्माण गरिएको नेपाल प्रहरी एकेडेमीको नयाँ भवन, दार्चुलामा निर्माण भएको पुल र भैरहवास्थित एकीकृत जाँच चौकी (आईसीपी) उद्घाटनका लागि प्रस्तावित छन्।
प्रधानमन्त्री शाहले भ्रमणको आर्थिक पक्षलाई प्राथमिकता दिँदै ७ मंसिरको बिहान नेपाल र भारतका उद्योगी तथा व्यवसायीको संयुक्त भेलालाई सम्बोधन गर्ने कार्यक्रमसमेत तय गरिएको छ। दुई देशबीच लगानी, व्यापार र आर्थिक साझेदारी विस्तारका विषयमा उनले धारणा राख्ने अपेक्षा गरिएको छ।
पुराना विवादमा भने उपलब्धिको सम्भावना न्यून
प्रधानमन्त्री शाहको भारत भ्रमणमा केही नयाँ सहमति र विकास आयोजनासम्बन्धी निर्णयको अपेक्षा गरिए पनि दुई देशबीच लामो समयदेखि थाती रहेका जटिल मुद्दामा ठोस प्रगति हुने सम्भावना भने न्यून देखिएको छ।
नेपाल–भारत सीमा विवाद, नेपालको बढ्दो व्यापार घाटा, व्यापार तथा पारवहनसम्बन्धी समस्या, सन् २०२० देखि रोकिएको भारतीय सेनामा नेपाली नागरिकको भर्ती र लामो समयदेखि अलपत्र पञ्चेश्वर बहुउद्देश्यीय आयोजना भ्रमणको कार्यसूचीमा परे पनि तिनमा निर्णायक सहमति हुने सम्भावना कम रहेको अधिकारीहरूको आकलन छ।
यसअघि नेपाली प्रधानमन्त्रीहरूले भारतको राजकीय भ्रमण गर्दा लामो राजनीतिक तथा कूटनीतिक भेटघाट र विभिन्न सहरको भ्रमण गर्ने गरेका थिए। तर, प्रधानमन्त्री शाहको भ्रमण भने दुई दिनमै सीमित रहनेछ। भारतीय पक्षले बेंगलुरु वा अहमदाबाद लैजाने प्रस्ताव गरे पनि शाहले राजधानीबाहिर जाने चासो नदेखाएको दूतावासका अधिकारीहरूको भनाइ छ।
यसरी प्रधानमन्त्री शाहको भ्रमणमा तत्काल उपलब्धि देखाउन सकिने हवाई सम्पर्क विस्तार र विकास आयोजनालाई प्राथमिकता दिइए पनि नेपालका दीर्घकालीन राष्ट्रिय हितसँग जोडिएका सीमा, व्यापार र पारवहनका मुद्दा फेरि ओझेलमा पर्ने जोखिम देखिएको छ।

