काठमाडौं, ११ मङ्सिर ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान र कानुनविपरित सरकारले प्रदेश र स्थानीय तहको निर्वाचन एकै पटक गर्न नसक्ने बताएका छन् ।
मूल धारका संचारमाध्यमका सम्पादकहरुसँग विहिबार भएको अन्तरक्रियामा ओलीले खर्चको बहानामा संविधान र कानुन बाहिर गएर सरकारले एकै पटक प्रदेश र स्थानीय तहको निर्वाचन गराउन खोजे मान्य नहुने पार्टीको ‘पोजिसन’ स्पष्ट पारे । संविधान र कानुन मिच्न खोज्ने हो भने अब आउने मंसिरमा संघ र प्रदेश दुवैको निर्वाचन सरकारले गराउनुपर्ने उनको भनाई थियो ।
‘संविधानले प्रदेश र स्थानीय तहको कार्यकाल ५ वर्ष भनेको छ, त्यसअनुसार दुवै तहले पाँच वर्ष काम गर्न पाउनुपर्छ, यदी दुवैको एकै पटक सरकारले चुनाव गराउन खोजेको हो भने संविधान र कानुनअनुसार कार्यकाल पूरा नभई सम्भव छैन, किनकी संविधानले तीनओटै तहललाई जनप्रतिनिधिविहीनताको कल्पनै गरेको छैन’ ओलीले भने,‘लोकतन्त्रमा आफ्नो प्रक्रिया हुन्छ नि । लोकतन्त्रमा चुनाव गराउँदा खर्च भयो भन्ने कुरालाई कहाँ पुर्याउँला? १५ १६ अर्ब खर्च हुन्छ रे, त्यसो भए सरकार छँदै छ किन चुनाव गराउने खर्च बेकार । देश आगो लगाइन्जेल खर्च भएन । चुनाव गराउनुपर्छ भन्दा खर्च हुन्छ भनेर हुन्छ ?’
खर्चकै नाममा संविधान र कानुन मिच्न खोज्ने हो भने संघ र प्रदेशको चुनाव एकै पटक आगामी मंसिरमा हुनुपर्ने उनको भनाई थियो ।
उनले चुनाव लोकतान्त्रिक प्रक्रियाअनुसार हुने भन्दै परिणामको चिन्ता कसैले नगर्दा पनि हुने बताए । पछिल्लो निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाई बहुमत ल्यायो भन्दैमा अब पनि त्यस्तै अबस्था दोहोरिने सम्भावना नरहेकोतर्फ इंगित गर्दै ओलीले परिस्थितिमा धेरै बदलाव आइसकेकोसमेत टिप्पणी गरे ।
‘भदौमा आँखा फुटेको गोरुले सँधै हरियो देखे जस्तै अझै थुप्रैलाई फेरि पनि २१ फागुनकै जस्तो परिणाम आउँछ भन्ने लागेको पनि हुनसक्छ तर चुनावमा के हुन्छ भन्ने कसैले चिन्ता नगर्दा हुन्छ, पहिले र अहिलेको परिस्थितिमा धेरै फेरबदल आइसक्यो ।’
ओलीले मुलुकमा लोकतन्त्र र राष्ट्रियतामा संकट देखिदाँ मूल धारका लोकतान्त्रिक शक्ति मिल्ने गरेको दृष्टान्त दिँदै अब पनि लोकतन्त्र, संविधान, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र राष्ट्रिय हितका लागि सबै दल मिलेर आन्दोलन गर्नुपर्ने अबस्था आउन लागेको पनि प्रष्ट्याए । ‘आन्दोलन रहर गरेर हुने चिज होइन, यो परिस्थितिको बाध्यताले हुन्छ’, ओलीले सम्भावित आन्दोलनप्रति टिप्पणी गर्दै भने,‘विगतमा जस्तै अपठ्यारो परिस्थितिमा लोकतान्त्रिक शक्तिहरु मिल्दै आएकाले अब पनि हामी एकजुट भएर अघि बढ्छौं, त्यसका लागि एमालेले सबै लोकतान्त्रिक शक्तिलाई आह्वान पनि गरिसकेको छ ।’
प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै समाचार कक्षमै प्रवेश गरी सरकारले पत्रकारहरुमाथि गिरफ्तार गरिरहेको घटनाको निन्दा र भत्र्सना गर्दै उनले पञ्चायतमासमेत अहिले जस्तो प्रेस र संचारकर्मीहरुमाथि दमन नभएको स्मरण गरे । ‘सरकारको अधिनायकवादी शैली सबैले देखेकै छौं, समाचार कक्षभित्रै प्रहरी प्रवेश गरेर समाचारको स्रोत खुलाउन दबाब दिने काम त पञ्चायतमा पनि भएको थिएन’ ओलीले स्मरण गरे,‘त्यतिबेला नेपाली प्रेस कमजोर त थियो तर कमजोर छ भनेर पञ्चायतले पनि अहिले जसरी प्रहरी पठाएर समाचार स्रोत खोल्न दबाब दिँदैनथ्यो ।’


