काठमाडौं, असोज ५। प्रमुख विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ जेनजी आन्दोलनमा दमनपछि प्रधानमन्त्री केपी ओलीले बाध्य भएर राजीनामा दिने बुझाईमा थिए ।
उनको राजीनामापछि माओवादीका तर्फबाट आफैं प्रधानमन्त्री बनेर पनि नेतृत्व सम्हाल्नुपर्ने अबस्थामा आउनसक्ने बुझाईमा रहेका उनी २३ भदौको साँझदेखि नै कांग्रेस र विपक्षी दलका नेताहरुसँग निरन्तर सम्पर्कमा थिए ।
भदौ तेस्रो सातातिरै अब देशमा सरकारविरुद्ध नयाँ आन्दोलन हुने घोषणा गरेका प्रचण्ड जेनजीहरुले सरकारविरुद्ध आन्दोलन गरेको र त्यसले अहिलेको सरकार फाल्ने विश्लेषणमा भएकाले पहिलो दिनको आन्दोलनबाट हौसिएका थिए ।
विकसित परिस्थितिलाई नजिकबाट नियालिरहेका प्रचण्डले प्रधानमन्त्रीमाथि राजीनामाको दबाब बढाउन बिहान ८ बजे आफ्नै पार्टीको संसदीय दलको कार्यालयमा विपक्षी दलहरुको बैठक बोलाएका थिए । सोही कारण सवा ७ बजेपछि प्रचण्ड खुमल्टारस्थित निवासबाट बाहिरिसकेका थिए । तर उनले विपक्षी दलको बैठक राख्न पाएनन ।
उल्टै सिंहदरवारबाट सेनाले रेस्क्यू गर्नु पर्यो । भदौ २४ गते बिहानैबाट तोडफोड र आगजनी सुरु भयो। सिंहदरबारमा विपक्षी दलहरू भेला भइरहँदा कांग्रेस सभापति शेरबहादुर देउवाको घर तोडफोड गरिएको र देउवा दम्पतीलाई कुटपिट गरिएको सूचना पाएका थिए । सामाजिक सञ्जालमा भिडिओ लाइभहरू आउन थालेपछि प्रचण्डको सत्तारोहणको सपना तुहिएको थियो ।
त्यो हेरेपछि प्रचण्ड सिंहदरबारमा आफैले राखेको बैठक छाडेर हिँडे। छोरी गंगा दाहालसहित प्रचण्ड सिंहदरबारभित्रै रहेको नेपाली सेनाको नरसिंह दल गणमा पसे। बाबुछोरी त्यहीँ बसे । उनीहरू सिंहदरबारभित्रै नरसिंह दल गणमा हुँदा दिउँसो आन्दोलनकारीले सिंहदरबारमा आगजनी गरे। प्रधानमन्त्री कार्यालयसहितका मन्त्रालयहरू जलिरहँदा प्रचण्ड त्यहीँ भएपनि केही गर्न सक्ने अवस्था थिएन ।
नेपाली सेनाको ब्यारेकमा कुनै सुरक्षा चुनौती नदेखिएपछि प्रचण्डलाई सिंहदरबारकै ब्यारेकमा राखिएको थियो। आन्दोलन साम्य भएपछि प्रचण्ड शुक्रबार छुट्टै निवासको व्यवस्था गरेर बाहिरिएका थिए। उनले नरसिंह दल गणको ब्यारेकमै तीन रात बिताए ।
खुमलटारस्थित प्रचण्डको निवास र सुनकोठीस्थित गंगा दाहालको घरमा पनि प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए। अहिले उनीहरू अर्कै ठाउँमा डेरा खोजेर सरेका छन ।
तर अहिलेको सरकारका उनका मान्छेहरु सहभागी भएका छन् । कुलमान घिसिङ, जगदीश खरेल लगायतका मन्त्रीहरु प्रचण्ड निकट रहेका छन् ।
