काठमाडौं, असोज ७ । जेनजी आन्दोलनको क्रममा देशभरबाट कति हतियार नष्ट भए र कति हतियार बाहिर छन भन्ने एकिन विवरण बाहिर आएको छैन । नेपाल प्रहरीले यसको सबै विवरण सार्वजनिक गरेको छैन । तर काठमाडौं उपत्यका र बाहिरका प्रहरी कार्यालयहरुबाट करिब ३ हजार हतियार भेटिएका छैनन । ‘अहिलेसम्म करिब ३ हजार हतियार फेला परेका छैनन’, स्रोतले भन्यो ।
प्रहरी स्रोतका अनुसार अहिलेसम्म २ हजार ९ सय ६४ हतियार फेला परेका छैनन । ती मध्ये थोरै संख्यामा लुटपाट भएको अन्य सबै आगलागीबाट नष्ट भएको प्रहरीको दावी छ । र १ लाख ७० हजार थान गोली आगजनीमा परेको स्रोतको दावी छ ।
हराएका र नष्ट भएका हतियारमा राईफल एसएलआर, इन्सास राईफल, हर्नेट राईफल, मार्कफोर राईफल म्याग्नम लगायत छन् । यसैगरी सर्टगन र ग्यासगन पनि हराएको छ । प्रहरी कार्यालयमा तोडफोड र आगजनी हुँदा पनि भक्तपुरको ठिमी र काठमाडौँको कालिमटी बृत्तका प्रहरीले हतियार जोगाएका थिए ।
प्रहरीले लुटिएका हतियार र गोलीहरू फिर्ताका लागि सूचना त जारी गरेको छ तर अहिलेसम्म हतियार फिर्ता भएको छैन । आगजनी र लुटपाट चौकीबाट हतियार हराएको प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले डिआइजी दीपक रेग्मीको संयोजकत्वमा देशभरि आगजनी र तोडफोड गरिएका भवन तथा लुटिएका हतियार, गोली, बर्दीको विवरण संकलन गर्न एउटा समिति बनाएको छ । सो समितिले काम शुरु गरिसहेको छ ।
उपत्यकामा जेनजी आन्दोलनका क्रममा प्रहरीका १२२ वटा कार्यालय भवन पूर्ण रुपमा र ९६ वटामा आशिंक रुपमा क्षति पुगेको छ ।
आन्दोलनका क्रममा विभिन्न कार्यालयमा राखिएका ११७ वटा चारपांग्रे सवारीसाधनमा पूर्ण रुपमा र चार वटा सवारीसाधनमा आंशिक रुपमा क्षति पुगेको छ । १५८ वटा दुईपांग्रे सवारीसाधनमा क्षति पुगेको छ । काठमाडौं बाहिरको विवरण अझै संकलन हुँदै गरेको प्रहरी प्रधानकार्यालयले जनाएको छ ।
