काठमाडौं, असोज ८ ।पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा देखिएको उत्तेजनात्मक, अराजनीतिक र प्रतिशोधपूर्ण गतिविधिले सामाजिक शान्ति र सद्भावमाथि गम्भीर खतरा पैदा गरेको बताएका छन् ।
बिहीबार प्रेस चौतारी नेपालका केन्द्रीय पदाधिकारीहरूसँगको छलफलमा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । ‘ देशमा देखिएको उत्तेजनात्मक, अराजनीतिक र प्रतिशोधपूर्ण गतिविधिले सामाजिक शान्ति र सद्भावमाथि गम्भीर खतरा पैदा भएको छ’, अध्यक्ष ओलीले भने । उनले आफूलाई प्रहारको पहिलो निशाना बनाएको पनि जानकार रहेको बताए ।
, ‘अहिले ममाथि प्रहारको निशाना केन्द्रित गरिएको छ। म सोध्न चाहन्छु, मेरो अपराध के हो त ? भ्रष्टाचार नगर्नु अपराध हो र ? मैले गरेको छैन, गर्दिनँ,’ उनले भने ।
हिंसात्मक र पृथकतावादी शक्तिहरूलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएर देशलाई द्वन्द्वबाट जोगाउनु पनि आफ्नो अर्को अपराध भएको ओलीले सुनाए।
‘समाजमा शान्ति–सुव्यवस्था कायम गर्न हिंसाको वकालत गर्ने शक्तिहरूलाई राष्ट्रिय एकताको मूलधारमा ल्याएँ, के यो अपराध हो ?’ उनले प्रश्न गरे। अध्यक्ष ओलीले हालैका दिनमा सामाजिक सञ्जालमा देखिएको अराजकता र घृणा फैलाउने प्रवृत्तिप्रति चिन्ता प्रकट गरे।
‘आफ्नो भन्दा फरक विचार राख्यो भने त्यसको घरमा आगो लगाउनुपर्छ, त्यसलाई काटी–काटी, किच्याई–किच्याईकन मार्नुपर्छ भन्ने कस्तो सभ्यता हो यो ?’ उनले भने, ’के हाम्रो सामाजिक चरित्र र मूल्य–मान्यता यही हो त ?’
उनले जेन–जी पुस्ताको नाममा भइरहेका गतिविधिहरू उनीहरूको वास्तविक आवाज नभएको दाबी गरे। ‘जेन–जीले यो गरेका छैनन्। उनीहरूको यस्तो निराधार र प्रतिशोध कुरा होइन,’ उनले भने। ओलीले सामाजिक सञ्जाल मात्र नभई केही स्थापित सञ्चारमाध्यमहरूले समेत देशको अहित हुने गरी अफवाहको खेती गरेको आरोप लगाए।
आफ्नो मन्तव्यका क्रममा उनले पत्रकारहरूलाई कसैको दबाबमा नपरी सत्यको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरे। ‘प्रेस स्वतन्त्रता लडेर प्राप्त भएको हो, यो कसैले खोस्न सक्दैन,’ ओलीले भने, ‘तपाईंहरू सत्यमा उभिनुस्, सत्य बोल्न नडराउनुस्।’
उनले सरकारले सामाजिक सञ्जाल बन्द गर्न नखोजेको तर देशको कानुन र सम्मानको दायरामा रहेर चलाउन मात्र आग्रह गरेको स्पष्ट पारे। देशमा अशान्ति र त्रासको अन्त्य गरी कानुनी शासनको प्रत्याभूति दिलाउन सबै एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए ।
‘हामी सबैले मिलेर देश जोगाउनु छ। देशलाई विकास र सुशासनको बाटोमा अगाडि बढाउनु छ,’ उनले भने, ‘सामाजिक सद्भाव खल्बल्याउने र शान्ति भंग गर्ने कुनै पनि प्रयासलाई सफल हुन दिनु हुँदैन।’
आफूमाथि नियोजित प्रहार भइरहेको बताउँदै उनले भने, ‘मेरो अपराध के हो ? भ्रष्टाचार नगर्नु र विकासको नेतृत्व गर्नु नै मेरो अपराध हो भने मलाई भन्नु केही छैन।
मैले राष्ट्रियताको पक्षमा दृढताका साथ उभिँदै देशलाई भूपरिवेष्ठितबाट भूजडित बनाउने काम गरेँ, के त्यो अपराध हो ?’ अध्यक्ष ओलीले सामाजिक सञ्जालको दुरुपयोग गरी घृणा र अफवाह फैलाएर समाजलाई विभाजित गर्ने प्रयास भइरहेको भन्दै यस्ता गतिविधिले कसैको हित नगर्ने सुनाए।
