काठमार्डां, असोज २१
जेनजी आन्दोलनका मृतकका परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दिएको जाहेरी प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको छ ।
भदौ २३ गते भएको घटना मानवताविरुद्धको अपराध भएको भन्दै परिवारले आज दिएको किटानी जाहेरी दर्ता नगरी आयोगमा पठाएको हो।
यस्तो जाहेरीको कार्यक्षेत्र जाँचबुझ आयोग हुने भएकाले त्यहाँ पठाइएको प्रहरीले जनाएको छ।
प्रदर्शनमा अस्वाभाविक बल प्रयोग गरेर दमन गरेको र १९ जनाको ज्यान जानेगरीको बल प्रयोगको घटना ‘सामूहिक हत्या’ भएको भन्दै जेन–जी आन्दोलनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने माग राखेर जिल्ला प्रहरी परिसर, काठमाडौँमा जाहेरी दर्ताको प्रयास गरेका थिए ।
प्रहरीले जाहेरी दर्ता नगरेपछि सोमबार राती परिसरको स्थिति तनावपूर्ण बनेको थियो । मंगलबार दिनभर पनि उनीहरूले जाहेरी दर्ता गर्न प्रयास गरे । तर प्रहरीले जाहेरी लिएर दर्ता नगरी त्यसलाई जाँचबुझ आयोगमा पठाएको हो ।
