काठमाडौं । एमालेको आन्तरिक समीकरणमा निर्णायक मानिदैं आएका उपाध्यक्ष तथा पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पूर्व राष्ट्रपति विद्या भण्डारीको पक्षमा खुलेका छन् । नेकपा एमालेको शुक्रवारको सचिवालय बैठकमा सदस्यता नवीकरण रोक्ने निर्णय परिवर्तन गर्नुपर्ने भन्दै पौडेलले पूर्वराष्ट्रपति भण्डारीलाई नेताका रुपमा पार्टीमा फर्काउनुपर्ने पक्षमा धारणा राखेका हुन् ।
पौडेलको कित्ता परिवर्तनसँगै एमालेको आन्तरिक समीकरणमा अब हलचल हुने सम्भावना बढेको छ । बैठकमा उनले पनि जेनजी आन्दोलनबाट भएको क्षतिको नैतिक जिम्मेवारी लिएर अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने मत राखेका छन् ।
यसससँगै एमालेको सचिवालय, स्थायी कमिटीहुँदै केन्द्रीय कमिटीसम्म भण्डारीको सदस्यता नविकरणको मुद्दा मात्रै होइन, अध्यक्ष केपी ओलीको राजीनामा र पार्टी पुनर्गठनको पक्षमा पनि बहुमत संख्या जुट्ने सम्भावना बढेर गएको छ ।
पौडेलसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र रामबहादुर थापा बादल भण्डारीलाई पार्टीमा ल्याउनुपर्ने पक्षमा उभिए । ‘उहाँहरुले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय सच्याउनुपर्ने प्रस्ताव ल्याउनुभएको छ,’ स्रोतले भन्यो ।
ईश्वर पोखरेल भण्डारीको पक्षमा पहिलेबाटै वकालत गर्दै आएका नेता हुन् । तर आजको बैठकमा विष्णु पौडेल र बादलले समेत विद्या भण्डारीको सदस्यताबारे बोलेका छन् ।
‘पूर्वराष्ट्रपतिले पार्टीमा फर्किएर काम गर्न चाहनु हुन्छ भने वलकम गरौं,’ पौडेलले भनेका छन् । स्रोतका अनुसार आगामी केन्द्रीय कमिटी बैठकले विद्या भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय लिनुपर्ने पोखरेल र पौडेलको प्रस्ताव छ ।
अर्का उपाध्यक्ष बादलले पनि विद्या भण्डारीको सदस्यतालाई रोकेर पार्टीलाई फाइदा नहुने तर्क गरेका थिए । ‘उहाँको सदस्यतालाई लिएर पार्टीभित्रको मनोविज्ञान विभाजन छ,’ बादललको प्रस्ताव थियो, ‘अहिले पार्टीभित्र एकता चाहिएको छ, उहाँले (विद्या भण्डारी) चाहनु हुन्छ भने सदस्यता नवीकरण गरेर काम गर्ने मौका दिनुपर्छ ।’
