काठमाडौँ, असोज २४
राजनीतिक दलका नेताहरूले सरकारको नीतिमाथि प्रश्न गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल राखेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस र एमालेका नेताहरूले सरकारमा रहेकाहरूले आफ्नो मान्छे उचालेर अराजकता फैलाउने अनि दलका नेतालाई राज्यले दिएको सुरक्षा फिर्ता गराउने काम गरेको भन्दै सरकारको नीतिमाथि प्रश्न उठाएका हुन् ।
निर्वाचनका लागि सरकार र दलहरुबीच सहजीकरणको लागि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति निवासमा राखेको बैठकमा कांग्रेस–एमालेका नेताहरुले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारले दलहरूलाई निषेध गर्न खोजेको हो भन्दै प्रश्न गरेका थिए ।
साथै उनीहरुले ‘आफ्ना मान्छे उचाल्ने अनि राज्यको सुरक्षाकर्मी पनि फिर्ता लिएर नेताहरूको हत्या गर्न खोजेको हो?’, भन्दै अर्को पनि प्रश्न गरेको स्रोतले जनाएको छ । गृह मन्त्रालयले विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि–२०७७ (परिमार्जित) विपरीत खटिएको सुरक्षाकर्मी फिर्ता गराएको थियो ।
गृहको निर्देशन अनुसार पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधव कुमार नेपाल र झलनाथ खनालको सुरक्षामा कार्यविधि भन्दा बढी परिचालित सुरक्षाकर्मी फिर्ता भइसकेका छन् ।
एमाले महासचिव शंकर पोखरेलले पोखरेले अन्तरिम सरकारको प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्याललाई सुरक्षा जोखिम बढिरहेको बेलामा सुरक्षाकर्मी फिर्ता गर्ने नियत ठिक नभएको भन्दै आपत्ति जनाएका थिए ।
प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरुलाई परिवर्तनलाई आत्मसात गर्दै चुनावमा भाग लिनका लागि आग्रह गरेकी थिइन् ।
तर, दुई ठूला दल कांग्रेस र एमालेले भने चुनावमा भाग लिने विषयमा ठोस प्रतिवद्धता जाहेर गरेनन् । उनीहरुले आआफ्नो पार्टीको वैठक बसिरहेको भन्दै त्यसपछि मात्रै धारणा बनाउने बताएका थिए ।
दुई दलले घोषित मितिमा निर्वाचन हुनेमा पनि संशय व्यक्त गरेको स्रोतको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने घोषित निर्वाचनलाई जसरी पनि सफल पानुपर्ने धारणा राखेको थियो । यो सरकारलाई असफल बनाउनका लागि राजनीतिक दलहरुले कुनै पनि खेल खेल्नु नहुने सो पार्टीका नेताहरुले जोड दिए ।
पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले देशबाहिर रहेका नेपालीहरुलाई मतदानमा जसरी पनि सहभागी गराउनुपर्नेमा माग राखेका थिए । पार्टीका सहमहामन्त्री विपिन कार्कीले जेनजी आन्दोलप्रतिको बुझाइ ठूला दलहरुले सच्याउनुपर्ने सुझाव दिए ।
