काठमाडौं, असोज २७
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले ठूलो मात्रामा गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ। विमानस्थलको भन्सार क्षेत्रबाट पक्राउ गरिएकामध्ये दुई पुरुष र एक महिला रहेका छन्।
पक्राउ पर्नेमा भारतका ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख र ३२ वर्षीया जैनब वशीर रहेका छन्।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार उनीहरू एयर एसियाको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए। त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयको संयुक्त टोलीले शंका लागेर चेकजाँच गर्दा करिब ११ किलो २७५ ग्राम गाँजा बरामद भएको हो।
प्रवक्ता घिमिरेले पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि लागूऔषध नियन्त्रण ब्यूरो (Narcotics Control Bureau) मा बुझाइएको जानकारी दिए।
प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न अपराधीहरूलाई कारबाही गर्न विमानस्थल क्षेत्रलाई उच्च निगरानीमा राखिएको जनाएको छ।
