कञ्चनपुर, असोज २७ गते
सुदूरपश्चिमको जैविक र सौन्दर्यले भरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अब फेरि जङ्गल सफारीको रमाइलो लिन सकिने भएको छ। केही महिनाको बन्दपछि, सोमबारदेखि पर्यटकका लागि सफारी खुला गरिएको निकुञ्ज प्रशासनले जनाएको छ।
मनसुनका कारण गत जेठको अन्त्यदेखि बन्द गरिएको सफारी सेवा अहिले दुई छुट्टाछुट्टै रुटमार्फत पुनः सञ्चालनमा आएको हो। निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिएअनुसार, बाँकी रुटहरू मर्मतको चरणमा छन् र छिट्टै खुला गरिनेछ।
अहिलेलाई दुईवटा ट्रेल मात्र खुलेका छन्, वाग्लेले भने, तर हामीले अन्य रुटहरू पनि चाँडै सञ्चालनमा ल्याउने योजना बनाएका छौँ।
अब कुनकुन रुट खुला भए त
१- पहिलो रुटस् मझगाउँ–बठनिया ताल–बाबा ताल–दुधिया क्याम्प–सलगौडी ताल–रानी ताल–सिंहपुर हुँदै पुनः मझगाउँ फिर्ता।
२- दोस्रो रुटस् मझगाउँ–पलियाफाँटा–हात्तीसार चोक–बर्कौला पोष्टसम्म पुगेर सोही बाटो हुँदै फर्किने।
कस्तो छ शुक्लाफाँटा
यो निकुञ्ज विशेषगरी बाह्रसिंगाको लागि विश्वप्रसिद्ध मानिन्छ। यहाँ करीब २,००० भन्दा बढी बाह्रसिंगा पाइन्छन्। साथै, एकसिंगे गैँडा, कृष्णसार, र बाघ जस्ता दुर्लभ वन्यजन्तु तथा सयौं प्रजातिका चराहरूको पनि अवलोकन गर्न सकिन्छ।
साना क्षेत्रफलभित्र धेरै बाघ पाइने विरलै देखिने स्थानहरूमध्ये शुक्लाफाँटा पनि एक हो, जसले बाघ अवलोकनका आकांक्षीलाई विशेष आकर्षित गर्छ।
चाडपर्वमा पर्यटकको भीड
दशैं र छठपर्वजस्ता चाडपर्वमा विद्यालयहरू बन्द हुने भएकाले धेरै आन्तरिक पर्यटकहरू परिवारसहित निकुञ्ज भ्रमणमा आउने गर्दछन्।
गत आर्थिक वर्षमा मात्रै ३ हजार ७२२ आन्तरिक र १५१ विदेशी पर्यटक शुक्लाफाँटा पुगेका थिए।
