काठमाडौं, असोज २७
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। उनीमाथि विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करीमा संलग्न भएको आरोप लगाइएको हो।
२०७९ पुसमा बरामद भेपमा सुन लुकाइएको र २०८० साउनमा फेरी ६१ किलो सुन बरामद भएपछि सरकारले उक्त प्रकरणको छानबिनका लागि पूर्वन्यायाधीश डिल्ली आचार्यको अध्यक्षतामा आयोग गठन गरेको थियो। उक्त आयोगले भेपसहितको सुन विमानस्थल भन्सार कार्यालयमा जफत गरी राखिएको अवस्थाबाट चोरी भएको विषयमा समेत अनुसन्धान गरेको थियो।
भेपमार्फत लुकाएर गरिएको सुन तस्करी प्रकरणमा महराको संलग्नता देखिएपछि प्रहरीद्वारा पक्राउ गरिएको बताइएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार, २०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर ँश्–०५८७ मार्फत नेपाल आएका एक चिनियाँ नागरिकले ल्याएको ७३० थान विद्युतीय चुरोट (भेप) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा जफत गरी स्टोरमा राखिएको थियो। पछि सो भेपमा सुन लुकाइएको खुलेको थियो।
अनुसन्धानका क्रममा महराका छोरा राहुल महरा पनि सो प्रकरणमा संलग्न रहेको देखिएको र त्यसै आधारमा कृष्णबहादुर महरालाई पक्राउ गरिएको प्रहरीको दाबी छ।
प्रहरीका अनुसार, करिब ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन अवैध रुपमा पैठारी गरी आपराधिक समूह बनाएर संगठित लाभ लिएको प्रमाण फेला परेको छ। यस प्रकरणमा भन्सार ऐन, २०६४ र संगठित अपराधसम्बन्धी कानून अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
