काठमाडौं, असोज २८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी १५औं महाधिवेशनमा सभापतिको दौडमा नरहने घोषणा गरेका छन्।
जेन–जी आन्दोलनका क्रममा भएको आक्रमणपछि पहिलो पटक पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुँदै उनले अब पार्टीमा नयाँ नेतृत्व ल्याउने समय आएको बताएका हुन्।
‘आगामी १५औं महाधिवेशनपछि म सभापति रहँदिनँ,’ देउवाले भने, ‘अब अरु कुनै साथी सभापति बन्नुहुनेछ, त्यसमा कुनै द्विविधा छैन।’
उनले घरमा सधैं एउटै मुली नरहेजस्तै पार्टीमा पनि सधैं एउटै सभापति नरहने सुनाए । ‘हाम्रो वैधानिक व्यवस्था र मेरो राजनीतिक इच्छाअनुसार १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रूपमा हस्तान्तरण गर्छु भन्ने निर्णय मैले पहिले नै गरिसकेको छु।,’ उनले भने ।
देउवाले जेन–जी आन्दोलनका क्रममा आफू र आफ्नो परिवारमाथि भएको आक्रमणलाई ज्यान लिन खोजिएको सांघातिक हमला भन्दै त्यसको कडा शब्दमा भत्र्सना गरे। उनले उक्त घटना देश, लोकतान्त्रिक पद्धति र पार्टीमाथिको योजनाबद्ध आक्रमण भएको बताए।
स्वास्थ्य समस्याका कारण तत्कालका लागि उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकिएको जानकारी पनि दिएका छन्।
