काठमाडौं । जेनजी आन्दोलनपछि नेकपा एमालेभित्र पहिलो पटक अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गहिरो हमला भएपछि असहज भएको छ । विगतमा ओलीलाई सहयोग गरिरहेका नेताहरुले नै नेतृत्वमाथि हमला भएपछि असहज भएको हो । सचिवालय बैठकमा अधिकांश पदाधिकारीले नेतृत्वमा छाड्न आग्रह गरेका छन् ।
उनीहरुले जेन–जी आन्दोलनबाट उत्पन्न परिस्थितिको जिम्मेवारी लिदै नेतृत्व छाड्नु पर्ने बताएका छन् । शुक्रबार र आइतबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीलाई अभिभावक बनेर बस्न आग्रह गर्दै नेतृत्व छाड्न भनिएको थियो । त्यही आग्रह आज बस्ने केन्द्रीय कमिटीको बैठकमा उठ्ने निश्चित रहेको छ ।
सचिवालयका सदस्यहरुले जेनजी घटनाप्रति नैतिक जिम्मेवारी लिँदै र कमजोरी स्वीकार गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । पार्टीको नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने प्रस्ताव अघि सारेपछि ओलीले मंसिरको अन्तिम साता महाधिवेशन गरौ भन्ने प्रस्ताव गरे । सोही पस्तावलाई अहिलेको केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गराउदैछन् ।
जेन जी आन्दोलनपछि नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुदैछ । ललितपुरको भनिमण्डल स्थित रामबाघ महलमा हुने बैठक तीनदिनसम्म चल्नेछ ।
एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रष्तुत गर्नेछन । प्रतिवेदनमा समसामयिक राजनीति,जेन जी आन्दोलन,घुसपैठ,व्यक्ति र सार्वजनिक सम्पतीको तोडफोड आदि विषयमा समेटिने छन् । यसैगरी अलोकतान्त्रिक ढंगले अन्तरिम सरकारको गठन,असंवैधानिक ढंगले संसदको विघठन र यसका असरका बारेमा पनि प्रतिवेदनमा समेटिने छन् । प्रतिवेदनमा सरकारले नगर्ने निर्वाचनको हौवा पिटाएको,सरकारले दलहरुसँग संवाद नगरेको जसले गर्दा निर्वाचनको वातावरण नबनेको बिषयमा पनि प्रतिवेदनमा उल्लेख हुनेछ ।
गौतमका अनुसार पार्टीले आगामी मंसिरमा हुने महाधिवेशनको मिति र स्थान तोक्ने छ । नेतृत्वले सो महाधिवेशनबाट ‘फ्रेस म्यान्डेट’ लिएर जनतामा जाने विषयमा पनि ठोस निर्णय गर्ने छ । यसैगरी लोकतन्को रक्षाका लागि संविधान पक्षधर शक्तिहरुलाई साथमा लिएर आन्दोलन र पार्टीमा व्यापक मात्रामा जनपरिचालन कार्यक्रम घोषणा गर्नेछ ।
अध्यक्षको राजनीतिक प्रतिवेदन र क्षेत्रगत रुपमा इच्छुक केन्द्रीय सदस्यहरुलाई धारणा राख्न दिने गरी समय व्यवस्थपन गरिएको छ । केन्द्रीय सदस्यहरुलाई अल्फाबेटिकल आधारमा बोल्ने पालो मिलाइएको एमालेले जनाएको छ । हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय तोकिएको कार्यलय सचिव डा।भिष्म अधिकारीले जानकारी दिए ।
यसअसघ सचिवालय बैठकमा एमालेका अध्यक्ष ओलीलाई अध्यक्षबाट हट्न वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलसहित पाँच उपाध्यक्षको एक स्वरले आग्रह गरेका छन् । गुण्डुस्थित ओली निवासमा बसेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञावाली अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापाले पछिल्लो राजनीतिक घट्नाक्रमलाई मध्यनजर गरेर मार्गप्रशस्त गर्न शालीनतापूर्वक आग्रह गरेका थिए ।
उनीहरूले जेनजी आन्दोलन नै अघिल्लो पुस्ताको अवकाशका लागि भएको देखिन्छ भन्दै घट्नाक्रमको शुरूवात राजनीतिबाट अघिल्लो पुस्ताको अवकाश र भ्रष्टचारको विरोधबाट भएकाले उनीहरूको मागको समेत सम्बोधन हुनेगरी अध्यक्षबाट मार्ग प्रशस्त गर्नु नै उपयुक्त बाटो हुने बताएका थिए ।
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञावालीले लिखित प्रस्ताव नै राखेका थिए । शाक्यले पार्टीका पुराना नेताहरू सबैले विदा लिनुपर्ने प्रस्ताव राखेकी थिइन । पार्टी सचिवालय बैठकमा लिखित मन्तव्य राखेकी शाक्यले पुराना जतिले बिदा लिनुपर्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन । ‘पुरानाले जतिले बिदा लिनुपर्ने प्रस्ताव राख्नुभएको छ,’ बैठक स्रोतले भन्यो, ‘अहिलेकै नेतृत्वले पार्टी अगाडि बढ्न नसक्ने उहाँको निष्कर्ष छ ।’
शाक्यले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएर सहज निकास दिनुपर्ने पनि बताएकी र त्यसमा अन्य उपाध्यक्षहरूले आफ्नो धारणा राख्नेक्रममा राजिनामा नभने पनि मार्गप्रशस्त भन्ने शब्द राखेर ओलीको राजिनामा मागेका थिए । एमाले बैठकमा शाक्यले ओलीको पहिलोपटक राजीनामा मागेकी हुन् । ‘भोलिपल्ट सरकार जाँदैछ भन्ने पत्तो भएन । अनि षडयन्त्र भनेर मात्र हुँदैन,’ शाक्यले ओलीलाई भनिन्, ‘नैतिक जिम्मेवारी लिएर तपाईले सहज निकास दिनुस् । अरुलाई अगाडि बढाउनुपर्छ ।’ त्यसैगरी उपाध्यक्ष विष्णु पौडेलले पनि सरकारबाट बाहिरिदा के–के भो भन्नेमा बैठक अल्मलिनु हुँदैन बरू नेतृत्वले आत्मसमीक्षा गरेर पार्टी महाधिवेशनमा जाँदा पदाधिकारीमध्ये एकलाई संयोजक तोकेर जानुपर्ने प्रस्ताव गरेका थिए । ‘विष्णु पौडेल पनि ओलीसँग सहमत हुनसक्नु भएन’, एक पदाधिकारीले भने,‘पहिलो पटक ओलीले नेतृत्व छाड्नु पर्ने धारणा राख्नु भयो ।’
उपाध्यक्ष पौडेलले त एक कदम अघि बढेर पूर्व राष्ट्रपति विद्या भण्डारीलाई ल्याउनन आग्रह गरेका थिए । ‘विद्या भण्डारीलाई वेलकम गरौ’, उनले भने । शुक्रबारको बैठकमा विष्णु पौडेल र बादलले समेत विद्या भण्डारीको सदस्यताबारे आफ्नो धारणा राखेको स्रोतको दावी छ । ‘पूर्वराष्ट्रपतिले पार्टीमा फर्किएर काम गर्न चाहनु हुन्छ भने वलकम गरौं,’ पौडेलको भनाई उद्यृत गर्दै स्रोतले भन्यो । आगामी केन्द्रीय कमिटी बैठकले विद्या भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय लिनुपर्ने इश्वर पपोखरेल र पौडेलको प्रस्ताव रहेको स्रोतको दावी छ । अर्का उपाध्यक्ष बादलले पनि विद्या भण्डारीको सदस्यतालाई रोकेर पार्टीलाई फाइदा नहुने तर्क गरेको स्रोतको दावी छ । उहाँको सदस्यतालाई लिएर पार्टीभित्रको मनोविज्ञान विभाजन छ,’ बादललको प्रस्ताव थियो, ‘अहिले पार्टीभित्र एकता चाहिएको छ, उहाँले (विद्या भण्डारी) चाहनु हुन्छ भने सदस्यता नवीकरण गरेर काम गर्ने मौका दिनुपर्छ ।’
