काठमाडौं, असोज २९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान परिस्थितिको सामना एकजुट भएर गर्नुपर्ने बताएका छन् ।
बुधबार नेकपा एमाले केन्द्रीय कमिटी बैकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सिङ्गो पार्टी एकताबद्ध नभई अहिलेको चुनौती सामना गर्न नसकिने बताए । ‘यस परिस्थितिको सफलतम सामना गर्ने भनेको हाम्रो आन्तरिक एकता नै हो त्यस कारण बट इफको कुरा छैन सिङ्गो पार्टी एकजुट भएर अगाडि बढ्नु पर्छ, म केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरूलाई हार्दिक आग्रह गर्न चाहन्छु, एकताबद्ध पार्टी भएर अगाडि बढौँ’, उनले भने।
ओलीले अहिले एमाले माथि सबैभन्दा बढी प्रहार भएको बताए। यो एमालेले नराम्रो काम गरेको कारण नभई राम्रो काम गरेको कारण आक्रमण भएको उनले बताए। एमालेले राष्ट्रिय मुद्दा र त्यसमा अडान राखेको मन नपरेको शक्तिहरू एमाले विरुद्ध लागेका ओलीले बताए ।
ओलीले आज देशमा अप्रत्याशित रूपमा प्रतिक्रान्तिको घटना भएको बताए। देश बरबादी तर्फ धकेलिएको बताउँदै ओलीले यस अवस्थाबाट देशलाई सही बाटोमा फर्काउन एमालेले नै काम गर्नुपर्ने बताए । एमालेले जस्तोसुकै असहज परिस्थितिमा पनि कम्युनिष्ट आन्दोलनको अगुवाइ गरेको उनले दाबी गरे । नेपालको विकास, सुशासन, स्थिरता, देश भक्ति, राष्ट्रिय एकता र स्वाभिमानको आन्दोलनको नेतृत्व नेकपा एमालेले नै गरेको उनको दाबी छ ।

