काठमाडौ, असोज २९ गते
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बनेको छ। पार्टीका ५३ प्रतिशत अर्थात २४ सय ८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर संकलन गरी विशेष महाधिवेशनको माग गर्दै पार्टी नेतृत्वमा बुझाएका छन्।
देशभरका प्रतिनिधिबाट संकलित ती हस्ताक्षरहरू नेता गुरु घिमिरेले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टी केन्द्रीय कार्यालय, सानेपामा बुझाएका हुन्।
नेता घिमिरेका अनुसार, यो संख्या हालको १४औं महाधिवेशनमा सहभागी कुल प्रतिनिधिहरूको झण्डै ५३ प्रतिशत हो। यो माग वर्तमान परिस्थितिमा पार्टीलाई नयाँ दिशा दिने उद्देश्यले गरिएको उनले स्पष्ट पारे।
उनले भने, “यो अभियान पार्टीभित्रको विद्रोह होइन, बरु स्वर्गीय नेता सुवर्णशम्शेर राणा जस्ता अग्रजहरूले अघिल्लो समयमा देखाएको लोकतान्त्रिक अभ्यासको निरन्तरता हो।”
उनका अनुसार, विशेष परिस्थितिमा विशेष महाधिवेशन माग गर्नु प्रतिनिधिहरूको नैसर्गिक अधिकार हो। पछिल्लो समय जेन–जी आन्दोलनपछि पार्टीभित्र व्यापक नेतृत्व परिवर्तनको माग उठिरहेको छ, जसका कारण प्रतिनिधिहरूबीच विशेष महाधिवेशनको आवश्यकता महसुस गरिएको हो।
यस अभियानलाई पार्टीका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले समेत समर्थन जनाएका छन्। उनीहरूका अनुसार, नियमित समयमै महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन नै उपयुक्त विकल्प हुनसक्छ।
