- सरकार असंवैधानिक होइन, क्रान्तिपछि आएको वैधानिक सरकार हो।
- सुशासनका लागि विद्रोह, तर अहिले सुशासन छोडिन्न।
- सुरक्षाकर्मीको दुरुपयोग गर्नेहरूले नै विरोध गरिरहेका छन्।
- व्यक्तिगत सुरक्षा माग भए औपचारिक निवेदन दिन आग्रह।
काठमाडौं, असोज २९ गते
गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारलाई असंवैधानिक भन्नेहरूलाई स्पष्ट जवाफ दिँदै भनेका छन्, यो क्रान्तिपछि बनेको सरकार हो, हेक्का रहोस ।
गृह मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारको वैधानिकता प्रश्न गर्ने अधिकार कसैलाई नभएको बताए।
उनको भनाइमा, क्रान्तिकारीहरूलाई आतंककारीजस्तो चित्रण गर्न थालिएको छ, तर वास्तविकता के हो भन्ने बुझ्न जरुरी छ। विद्रोह सुशासनका लागि भयो, त्यसैले अहिले सुशासन छोड्ने कुरा आउँदैन।
पुराना व्यवहारको आलोचना
गृहमन्त्री अर्यालले अघिल्लो सरकारहरूमाथि सुरक्षा निकायको दुरुपयोग गरेको आरोप पनि लगाए।
उनले कटाक्ष गर्दै भने, कसैले सुरक्षाकर्मीलाई घरको भान्से बनाए, कसैले पीएसओलाई ड्राइभर बनाए। अहिले त्यहीँहरूले सरकारको आलोचना गरिरहेका छन्।
शान्ति सुरक्षामा सरकार गम्भीर
हालै अनावश्यक सुरक्षा हटाइएपछि त्यसको विरोध भइरहेकामा गृहमन्त्रीले त्यसलाई योजनाबद्ध असन्तुष्टि भनेका छन्।
उनले स्पष्ट पारे, सरकार शान्ति सुरक्षाका विषयमा गम्भीर छ। व्यक्तिगत खतरा भए निवेदन दिन सकिन्छ, त्यसअनुसार निर्णय हुन्छ।
