काठमाडौं , असाेज २९
नेपालले आगामी वर्ष श्रीलंका र भारतमा संयुक्त रूपमा हुने आइसिसी टी–२० विश्वकप २०२६ मा स्थान पक्का गरेको छ।
ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया एन्ड इस्ट एसिया छनोट प्रतियोगितामा दुई खेल बाँकी रहँदै नेपालले विश्वकपका लागि योग्यता हासिल गरेको हो।
सुपर सिक्स चरणमा कम्तीमा शीर्ष दुई स्थानमा रहने निश्चित भएपछि नेपालले लगातार दोस्रोपटक विश्वकप यात्रा तय गरेको हो। सुपर सिक्सका ६ टोलीमध्ये शीर्ष तीन टोली विश्वकपका लागि छनोट हुने प्रावधान छ।
हाल नेपाल र ओमान दुवैले तीन खेलबाट ६–६ अंक हासिल गर्दै अपराजित छन्, जसले दुवै टोलीलाई विश्वकपमा प्रवेश दिलाएको हो। बुधबारको खेलअघि नै नेपाल र ओमानको स्थान सुनिश्चित भएको थियो।
तेस्रो स्थानका लागि संयुक्त अरब इमिरेट्स (युएई) र जापानबीच प्रतिस्पर्धा बाँकी छ, तर ती दुई टोलीमध्ये एकले अर्को टोलीसँग खेल्नुपर्ने भएकाले दुबै एकसाथ शीर्ष तीनमा पर्न नसक्ने स्थिति बनेको हो।
