काठमाडौं, असोज ३०
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीकै गृह जिल्ला झापाका केन्द्रीय सदस्य रविन कोइरालाले अध्यक्ष ओलीको राजीनामा माग गरेका छन्।
बिहीबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै कोइरालाले अब ओलीले पार्टीको नेतृत्वबाट ससम्मान विदा लिनुपर्ने धारणा राखे। उनले स्पष्ट रूपमा ओलीको राजीनामा माग गर्दै पार्टीलाई नयाँ ढंगले अघि बढाउन नेतृत्व हस्तान्तरण आवश्यक भएको बताए।
केन्द्रीय कमिटीका एक नेताका अनुसार, बैठकको दोस्रो दिन कोइरालाले बोलेका थिए।
उनले भने, “अध्यक्ष कमरेड, तपाईं अब पार्टीको संरक्षकको भूमिकामा बस्नुहोस्। महाधिवेशनसम्मका लागि संयोजक तोकौं। यो शैलीले पार्टी अघि बढ्दैन। नैतिक रूपमा पनि तपाईंले विदा लिएको उपयुक्त हुन्छ।”
रविन कोइराला झापामा दुई कार्यकाल जिल्ला अध्यक्ष भइसकेका नेता हुन्। ओली झापा क्षेत्र नं. ५ (दमक) बाट प्रतिनिधित्व गर्छन् भने कोइराला क्षेत्र नं. १ (बाहुनडाँगी) क्षेत्रका हुन्।
