काठमाडौं, असोज ३१
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले समसामयिक राजनीतिक विषयमा धारणा राख्ने क्रम आज पनि जारी रहने भएको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज बिहान ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा पुनः बस्ने छ।
असोज २८ गतेदेखि निरन्तर जारी बैठकमा हिजोको दिन पनि सदस्यहरूले हालको राजनीतिक परिस्थिति, आगामी निर्वाचन तयारी र संगठन सुदृढीकरणका विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए। हिजोको बैठकको प्रारम्भमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्ला राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए। त्यस क्रममा महामन्त्री गगनकुमार थापाले विभिन्न प्रस्तावहरू प्रस्तुत गरेका थिए।
बैठकमा डा. शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, शिवप्रसाद हुमागाईं, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडलगायत नेताहरूले आ–आफ्ना धारणा राखेका थिए।
यसअघि असोज २८ गते बसेको पहिलो बैठकमा सभापति शेरबहादुर देउवाले विशेष मन्तव्य राख्दै स्वास्थ्य कारणले उपसभापति खड्कालाई कार्यवाहक सभापतिका रूपमा जिम्मेवारी तोकेका थिए।
बैठकमा आज पनि नीति, संगठन र निर्वाचन तयारीका विषयमा विस्तृत छलफल जारी रहने बताइएको छ।
