काठमाडौं, असोज ३१
प्रधानमन्त्री सुशीला कार्कीले आज नेपालस्थित कूटनीतिक निकायका प्रमुख र विदेशी राजदूतहरूसँग बैठक गर्दैछिन्। नेपालको वर्तमान राजनीतिक अवस्थाबारे ब्रिफिङ र परामर्श गर्न उनले सिंहदरबारमा बैठक बोलाएकी हुन्।
प्रधानमन्त्री कार्यालयका अनुसार बैठक आज दिउँसो साढे २ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा नेपालस्थित सबै राजदूत र कूटनीतिक निकायका प्रमुखहरूलाई आमन्त्रण गरिएको छ।
बैठकमा नेपालको समसामयिक राजनीतिक अवस्था, अन्तरिम सरकारले २१ फागुनमा तोकेको प्रतिनिधिसभा निर्वाचन, र त्यसका तयारीबारे छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रधानमन्त्री नियुक्त भएपछि कार्कीले यस प्रकारको कूटनीतिक तहको पहिलो औपचारिक बैठक आह्वान गरेकी हुन्।
