काठमाडौं, असोज ३०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले आगामी निर्वाचनमा सबै नागरिकले स्वतन्त्र र निडर रूपमा सहभागी हुनसक्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज बोल्दै उनले पार्टीका कार्यकर्तालाई जनताको घरदैलोमा पुगेर उत्साहका साथ चुनावी तयारीमा जुट्न आग्रह गरे। उनका अनुसार, सात दशकको संघर्षपछि बनेको संविधान अहिले “अर्धमूर्छित अवस्थामा” पुगेको छ र त्यसको रक्षा गर्ने जिम्मेवारी कांग्रेसले अग्रपंक्तिमा रहँदै लिनुपर्नेछ।
डा. कोइरालाले भने, “हामी अहिले जहाँ उभिन्छौं, त्यही बाटोले नेपालको भावी राजनीतिक दिशालाई निर्धारण गर्नेछ।”
उनले राजनीतिक दलदेखि नयाँ पुस्तासम्म सबैले वर्तमान सरकारलाई निर्वाचनको जनादेश दिएको स्मरण गराउँदै, निर्वाचनमैत्री वातावरण बनाउन आवश्यक पूर्वतयारी तत्काल सुरु गर्नुपर्ने बताए।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार सरकारको नियन्त्रणमा ल्याउनुपर्ने बताउँदै उनले त्यस क्रममा जेलबाट फरार भएका अपराधीहरूलाई तत्काल नियन्त्रणमा लिई कानुनी प्रक्रियामा ल्याउन सरकारलाई आग्रह गरे।
आगामी मंसिर महिनामा पार्टीको १५औं महाधिवेशन नियमित रूपमा सम्पन्न गर्नुपर्ने बताउँदै डा. कोइरालाले भने, “नियमित महाधिवेशनबाट मात्र पार्टीमा नवीन सोच, नेतृत्वमा ताजापन र सबैको सम्बोधन सम्भव हुन्छ।”
उनले एकताबद्ध, बलियो र समयअनुकूल कांग्रेसको आवश्यकता औंल्याउँदै, २०७९ सालको चुनावमा गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेका वा विद्रोही उम्मेदवार उठाएका कारण कारबाही सिफारिसमा परेकाहरूको कारबाही फिर्ता गर्न पनि माग गरे।
डा. कोइरालाका अनुसार, पार्टीभित्र सहमति र मेलमिलापकै माध्यमबाट कांग्रेसलाई “नयाँ दिशा र नयाँ सम्भावनाको पार्टी” बनाउने बेला आएको छ।
