काठमाडौँ, असोज ३०
नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले पूर्वराष्ट्रपति विद्या भण्डारी र पूर्व उपाध्यक्ष भीम रावल लगायत पार्टीबाट कारबाहीमा परेका सबै नेताहरूमाथिको कारबाही फिर्ता गर्न माग गरेका छन्।
एमाले केन्द्रीय कमिटीको जारी बैठकमा बोल्दै नेता रावलले पार्टीभित्रका ‘भागेर लुकेकाहरू’ समेत समेटेर अघि बढ्नुपर्ने बताए। “यो बैठक हाम्रो साझा भेला हो, अब यथार्थपरक भएर अघि बढ्न जरुरी छ,” उनले भने।
देशको वर्तमान अवस्था गम्भीर रहेको उल्लेख गर्दै उनले संविधान ‘मुर्छित’, लोकतन्त्र ‘घाइते’ र कम्युनिष्ट आन्दोलन विघटनको मोडमा पुगेको टिप्पणी गरे।
“जनता एकातिर छन्, हामी अर्कोतिर हिँडिरहेका छौँ,” भन्दै रावलले मुलुकमा विध्वंशको षड्यन्त्र अझै समाप्त नभएको चेतावनी पनि दिए।
उनले कांग्रेस र एमालेबीच भएको सातबुँदे सम्झौता १४ महिनासम्म पनि लागू नहुनुका कारणबारे प्रश्न उठाउँदै, “२२ गते अघिको र पछिको सन्दर्भमा शक्ति सन्तुलन र सम्बन्धमा व्यापक फेरबदल आएको छ, त्यसैले एमाले सहि मार्गमा अघि बढे मात्र पार्टी र देशको हित सम्भव छ,” स्पष्ट पारे।
