ललितपुर, असोज ३०
ललितपुर महानगरपालिका–१६ धौगलबाट सशस्त्र प्रहरीले बिहीबार दिउँसो ५० किलोभन्दा बढी चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपालका अनुसार पक्राउ परेका व्यक्ति भारतको बिहार राज्य, घोरसहन पूर्वी चम्पारणका ३१ वर्षीय अभिषेक शेख हुन्। उनी विगत केही वर्षदेखि अवैध रूपमा भारतबाट नेपाल चाँदीका गरगहना ल्याई बिक्री वितरण गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल इंटेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ गण दक्षिणकाली, ललितपुरको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका शेखको साथबाट करीब ५० किलो ७४ ग्राम चाँदीका गरगहना, १२ लाख ९१ हजार ९० रुपैयाँ नेपाली नगद, १ हजार २ सय ७० भारतीय रुपैयाँ, चाँदी तौल गर्ने मेसिन १ थान, इलेक्ट्रिक साइकिल १ थान, आईप्याड १ थान र मोबाइल सेट १ थान बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद चाँदी, नगद र अन्य सामानसहित पक्राउ परेका उनलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुरमा बुझाइएको सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
