काठमाडौं, असोज ३१ गते
नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य अरविन्द सिंहले शुक्रबार नेतृत्वसंग केन्द्रीत १० बुँदे धारिलो आलोचना राखेका छन् ।
उनका सुझाव र प्रश्नहरु निम्न अनुसार छन्
१- भदौ २२ गतेको जस्तोसुकै चुनौतीको सामना गर्ने रेजिलिएन्ट दृढ अवस्थामा हामी रहेको राजनीतिक प्रतिवेदनको विश्लेषण २४ घण्टा नपुग्दै फेल भयो। फेल भएको कार्यनीति बोकेर आगामी पाँच वर्ष कसरी जाने होला ? हाम्रा विश्लेषणहरु वस्तुनिष्ट हुने गरेका छैनन् । नेतृत्वले के सुन्न रुचाउँछन् त्यही मात्रै सुनाउने प्रवृत्तिले हामीलाई सच्याउदैन। सक्किने बाटोमा लैजान्छ।
२- पार्टी सत्ता र राज्य सत्ता हाम्रो हातमा भएको बेला भदौ २३ गते भएको नरसंहारको आरोपबाट सतही विश्लेषणका आधारमा हामीले आजीवन उन्मुक्ति पाउदैनौं।
३ – २४ गतेको विध्वंस २३ गतेको नरसंहारको प्रतिक्रिया हो जसमा घुसपैठ भयो। जुन घटनालाई विदेशी षड्यन्त्रको सिद्धान्त जस्ता अमुर्त कुरा मात्रै भनेर आफ्नो अकर्मण्यता ढाकछोप गर्दा त्यो समीक्षा फेरि सतही हुन्छ। विस्तृत र वस्तुनिष्ठ विश्लेषण जरुरी छ।
४ – भ्रस्टाचार र व्यभिचारका डेढ दर्जन भन्दा बढी आरोपहरुमा आरोपितहरु हामी यहीँ छौँ । त्यसको छानबिन गरेर कार्वाही गर्ने बारेमा पार्टीले संस्थागत ढंगले कहिले बोल्ने कि बोल्दै नबोल्ने ?
५ – वर्तमान अवस्थामा जनताको आक्रोश एमालेमाथि भन्दा पनि पार्टी अध्यक्ष, उनका अभिव्यक्ति र उनलाई घेराबन्दीमा राखेर चलाउने समुहमाथी रहेकोले त्यो यथार्थलाई आत्मसात गर्दै जिम्मेवारी हस्तान्तरण गरेर मार्ग प्रशस्त गर्नु नै पार्टीको भविष्य बचाउने एक मात्रै उपाय हो।
६ – युवा विद्यार्थी र आम जनता स्वतस्फूर्तरुपमा सरकारका विरुद्धमा सडकमा आउनु के प्रतिक्रान्ती हो ? कुशासन र भ्रष्टाचारको विरुद्ध गरिने सडक संघर्षहरुका कारण सत्ताच्युत हुने कुरालाई प्रतिगमन भन्न मिल्छ ? यसमा अझै वस्तुनिष्ट ढंगले विश्लेषण गर्न जरुरी छ।
७ – जनसंगठनहरु कसरी चल्दैछन भन्ने एउटा उदाहरण – टंक कार्कीदेखि समीक बडालपछिका पुस्ताले समेत गर्व गर्ने प्यारो संगठन अनेरास्ववियुको अध्यक्षमा एक दिन टिक्न नसकेर राजीनामा दिएर भाग्ने नेतृत्वलाई स्थापित गर्ने कस्तो कार्यशैलीमा पुगेका छौँ हामी ?
८ – चार वर्षसम्ममा केन्द्रीय कमिटीका बैठकमा ४-५ जना बाहेक ३ मिनेट समेत बोल्न नपाउदा कुनै हिनताबोध र ग्लानी नहुने तपाईं पदाधिकारीहरुले सार्वजनिक खपतका लागि बाहिर बोल्नुको कुनै अर्थ छैन।
९ – दुई दुई पटक हामी आफैले संसद विघटन गरेकोले संसद पुनर्स्थापनाको माग लिएर आन्दोलनमा जादा हामी आम जनताकाबिच घृणा र हासोको पात्र मात्रै हुन्छौं । चुनाव बहिष्कार गर्ने नीति अर्को भिडन्त निम्त्याउने योजना हो। कमजोरी सच्याउदै चुनावमा जानुको विकल्प छैन।
१० – विद्या भंडारीको सदस्यता नवीकरण गरि पार्टी काममा फर्किने वातावरण बनाउन माग गर्दछु।
